वीरगंजको क्लार्क रिसोर्ट क्यासिनोबाट पाँच जना पक्राउ

1200x150_1200x150-01.jpg (1)

वीरगंज , कार्तिक ४-

वीरगंज महानगरपालिका–१४, गण्डकस्थित क्लार्क रिसोर्ट होटल परिसरमा सञ्चालित ‘गोल्डेन फिंगर गेमिङ जोन प्राइभेट लिमिटेड’ क्यासिनोमा प्रहरीले छापा मारेर पाँच जनालाई नियन्त्रणमा लिएको छ।

क्यासिनोमा नियमविपरीत नेपाली नागरिकलाई प्रवेश गराएको आरोपमा चार जना ग्राहक र एक कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्राप्त विवरणअनुसार, विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले क्यासिनोमा खानतलासी गर्दा जुवा खेलिरहेका चार जना नेपाली नागरिकलाई फेला पारेको थियो। उनीहरूलाई क्यासिनोमा प्रवेश गराउन संलग्न रहेको आरोपमा एक कर्मचारीसमेत नियन्त्रणमा परेका छन्।

पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका–४ का करिब ५० वर्षीय रामचन्द्र शाह, परसौनी गाउँपालिका–१ का करिब ४७ वर्षीय सुभाष कुमार, परसौनी गाउँपालिका–३ का करिब ४९ वर्षीय अक्षयलाल प्रसाद तथा रौतहटको बौधिमाई नगरपालिका–९ का करिब ५० वर्षीय सुमेश्वर जैसवाल रहेका छन्।

त्यस्तै, नेपाली नागरिकलाई नियमविपरीत क्यासिनोमा प्रवेश गराएको आरोपमा क्यासिनोका ३५ वर्षीय कर्मचारी सुनिल पटेललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका कार्यवाहक सूचना अधिकारी प्रहरी निरीक्षक विकास राईका अनुसार विशेष सूचनाका आधारमा गरिएको कारबाहीका क्रममा नियमविपरीत क्यासिनोमा प्रवेश गरेका नेपाली नागरिक र उनीहरूलाई प्रवेश गराउने आरोप लागेका कर्मचारीलाई नियन्त्रणमा लिइएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनामा पक्राउ परेका व्यक्तिहरूमाथिका आरोप पुष्टि हुन बाँकी छन्। प्रहरीले गर्ने अनुसन्धान र कानुनी प्रक्रियाबाटै घटनाको थप तथ्य स्पष्ट हुने अपेक्षा गरिएको छ।

सम्बन्धित पोस्टहरुः