वीरगंज, ९ कात्तिक । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वाटर पर्सा तथा मातहतका विभिन्न युनिटहरूले जिल्लाका विभिन्न सीमा इलाकाहरूबाट ४४ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामानहरू बरामद गरेका छन्। भारतबाट भन्सार छली गरी विभिन्न माध्यमबाट नेपालतर्फ ल्याउँदै गरेका ती सामानहरू नियन्त्रणमा लिई वीरगंज भन्सार कार्यालयमा दाखिला गर्नुका साथै केही सामानहरू नष्ट गरिएको छ।
सशस्त्र प्रहरीले दिएको जानकारी अनुसार, मिति २०८३ साल कार्तिक ८ गते पर्साका विभिन्न स्थानीय तह तथा सीमा इलाकाबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा भन्सार छली विभिन्न सवारी साधनमा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको ७ लाख १० हजार ५२० रुपैयाँ बराबरको कपडा, कस्मेटिक तथा किराना सामानहरू बरामद गरेको थियो।
यसैगरी, विभिन्न मिति र स्थानमा गरिएका अन्य कारबाहीहरूको विवरण यसप्रकार रहेको छ:
मोबाईल पार्टस बरामद: मिति २०८३ साल कार्तिक ६ गते जिल्ला पर्साको बिन्दवासिनी गाउँपालिका वडा नं. ५ प्रसौनिभाठ्ठास्थित बीओपी प्रसौनीभाठ्ठाबाट खटिएको टोलीले चेकजाँचको क्रममा बा.६३ प ६८१५ नम्बरको मोटरसाइकलमा भारतबाट अवैध रूपमा ल्याउँदै गरेको १८ लाख ४१ हजार ५०० रुपैयाँ बराबरको मोबाइल पार्टस बरामद गरेको छ। सोही बीओपीबाट खटिएको अर्को टोलीले ५९ हजार ४० रुपैयाँ बराबरको कपडा र मोटरपार्टस समेत नियन्त्रणमा लिएको छ।
बेवारिसे औषधि बरामद: मिति २०८३ साल कार्तिक ७ गते वीरगंज महानगरपालिका वडा नं. २५ खल्वास्थित बीओपी सुख्खा बन्दरगाह (ड्राइपोर्ट) पर्साबाट खटिएको पैदल गस्ती टोलीले सीमा इलाकाको धान खेतमा बेवारिसे अवस्थामा फेला पारेको ८ लाख १७ हजार ६८० रुपैयाँ बराबरको मानिसले प्रयोग गर्ने विभिन्न प्रकारका औषधि तथा अन्य सामानहरू बरामद गरेको छ।
सीमा सुरक्षा गुल्म अलौं र वीरगंजको कारबाही: सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले विभिन्न मितिमा ३ लाख ५ हजार ६२० रुपैयाँ बराबरको खरबुजाको बीउ, तोरी तथा कपडाहरू र सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको टोलीले १ लाख ८४ हजार रुपैयाँ बराबरको कपडा तथा इलेक्ट्रोनिक्स सामानहरू बरामद गरेको छ।
बीओपी सिर्सियाद्वारा बरामद: बीओपी सिर्सियाबाट परिचालन भएको टोलीले विभिन्न मितिमा २ लाख १६ हजार रुपैयाँ बराबरको कपडा बरामद गरी आवश्यक कारबाहीका लागि मिति २०८३ साल कार्तिक ८ गते वीरगंज भन्सार कार्यालयमा बुझाएको छ।
प्रतिबन्धित पटका नष्ट:
यसैबीच, नजिकिँदै गरेको तिहार तथा छठ पर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपालतर्फ भित्र्याइएका ३ लाख रुपैयाँ बराबरका प्रतिबन्धित पटकाहरू पर्साका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको छ। बरामद गरिएका ती पटकाहरू आवश्यक प्रक्रिया पूरा गरी नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
अवैध गतिविधि तथा तस्करी नियन्त्रणका लागि सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च पारिएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण पर्साका सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायब उपरीक्षक (स.प्र.ना.उ.) सुरज क्षेत्रीले जानकारी दिनुभएको छ।







