एजेन्सी , कार्तिक – ९
भारतको अरुणाचल प्रदेशमा प्रस्तावित विशाल जलविद्युत् बाँध परियोजनाविरुद्ध भएको प्रदर्शनका क्रममा झडप हुँदा ४० जना प्रहरी घाइते भएका छन्।
मुख्यमन्त्री पेमा खाण्डुका अनुसार सरकारी जलविद्युत् कम्पनी एनएचपीसीले निर्माण गर्न लागेको ११ हजार २०० मेगावाट क्षमताको ‘सियाङ अपर मल्टिपर्पज प्रोजेक्ट’ विरुद्ध स्थानीयवासीले प्रदर्शन गरेका हुन्।
प्रदर्शनका क्रममा आन्दोलनकारीले प्रहरी चौकी, एनएचपीसीको कार्यालय तथा जनप्रतिनिधिका घरमा तोडफोड र आगजनी गरेका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको जनाइएको छ।
आयोजना निर्माण भए आफूहरूको घरजग्गा डुबानमा पर्ने र विस्थापित हुनुपर्ने चिन्ता स्थानीयवासीले व्यक्त गरेका छन्।
चीनले सीमा नजिकै १६७ अर्ब अमेरिकी डलरको विशाल जलविद्युत् आयोजना निर्माण गर्न लागेको विषयलाई लिएर भारतले पनि आफ्नो क्षेत्रमा बाँध निर्माण अघि बढाउन खोजेको हो। चीनको प्रस्तावित आयोजनाले ब्रह्मपुत्र नदीको तल्लो तटीय क्षेत्रमा पानीको बहाव प्रभावित पार्न सक्ने भारतको चिन्ता छ।
यसैबीच, भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सीमा क्षेत्रमा चिनियाँ सेनाको गतिविधिका कारण बेलाबेलामा तनाव उत्पन्न हुने गरेको बताएका छन्। उनले दुवै देश कूटनीतिक तथा सैन्य संयन्त्रमार्फत विवाद समाधानका लागि नियमित सम्पर्कमा रहेको जानकारी दिएका छन्।






