बारा ,कार्तिक १४ —
बाराको फेटा गाउँपालिकामा नवनिर्मित अस्पताल उद्घाटनको विषयलाई लिएर प्रहरी र स्थानीयबीच झडप हुँदा एक १४ वर्षीय किशोरलाई गोली लागेको छ भने सिमराका एक सरकारी विद्यालयका प्रधानाध्यापक लालबाबु साहसहित आधा दर्जन स्थानिय समेत घाइते भएका छन्।
फेटा-३ बजारस्थित फेटा माध्यमिक विद्यालयनजिकै संघीय सरकारको अनुदानमा निर्माण गरिएको १५ शैय्याको अस्पताल उद्घाटन गर्ने क्रममा स्थानीयले प्रयोगशाला, एक्स–रे,बेडलगायत भौतिक पूर्वाधार र चिकित्सक,नर्सलगायतका आवश्यक सुविधा नरहेको भन्दै अस्पताल उद्घाटन गर्न नहुने अडान राखेका थिए। स्थानीयको विरोधपछि स्थिति तनावपूर्ण बनेको थियो।
त्यसपछि ईलाका प्रहरी कार्यालय प्रसौनी, नौतन गण्डकबाट प्रहरी निरीक्षक सुमन लामाको नेतृत्वमा खटिएको टोलीले भीड नियन्त्रण गर्न हवाई फायर गरेको बताइएको छ। सोही क्रममा स्थानीय धर्मेन्द्र पासवानका अन्दाजी १४ वर्षीय छोरा आदित्य पासवानको पेटमा गोली लागेको हो। गम्भीर घाइते उनको वीरगंजस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ। उनको पेटको गोली चिकित्सकले निकाली सकेको र अवस्था सुधार नभए काठमाडौं रेफर गरिने बताइएको छ ।
प्रहरीले बल प्रयोग गरेपछि आक्रोशित स्थानीयले नगाउँपालिका कार्यालयअगाडि रहेको ९ वटा मोटरसाइकलमा आगजनी गर्दै प्रदर्शन गरेका छन्।
गाउँलेहरुले गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीले जसरी पनि अस्पताल उद्घाटन गरि छाड्ने जिद्दको कारण फेटा रणभूमि बनेको आरोप लगाएका छन्।
अन्सारी साझा विवेकशील पार्टीबाट चुनाव वापस अध्यक्षमा चुनाव जितेका छन् ,हाल उक्त पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीमा मिलिसकेको छ । सोही अस्पताल उद्घाटन गर्न रास्वपा नेतृ समीक्षा बास्कोटा बारा,कलैया आइपुग्दा विहान १०:३० बजे फेटामा झडप शुरु भएपछि उनी कलैयामै रोकिएकी थिइन ।
फेटा गाउँपालिकाका पूर्वअध्यक्ष अमिरिलाल पालले प्रहरीले जानीजानी दमन गरेको आरोप लगाउँदै घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्।
यता, वर्तमान फेटा गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीले विपक्षीहरूको कारणले गर्दा आजको घटना भएको दाबी गरेका छन्।
बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्।
घटनापछि फेटामा सुरक्षा व्यवस्था कडा पारिएको छ। घटनास्थलमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ। प्रहरी परिचालनपछि अहिले अवस्था सामान्य बनेको र अवस्था बिग्रेको खण्डमा सुरक्षा समितिको बैठक बसेर कर्फु लाग्न सक्ने जनाए।






