बारा , कार्तिक १४ —
बाराको फेटा गाउँपालिका–३ मा भएको झडपप्रति जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय उपाध्यक्ष एवं मधेश प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले दुःख व्यक्त गरेका छन्। उनले घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गर्न र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सोनलले गोली लागेर गम्भीर घाइते भएका आदित्य पासवानलाई उच्चस्तरीय स्वास्थ्य संस्थामा निःशुल्क उपचार गराउन तथा अन्य घाइतेको पनि उपचार खर्च सरकारले बेहोर्नुपर्ने बताएका छन्।
उनले जनप्रतिनिधिलाई घटनाप्रति गम्भीर बन्न र प्रहरी प्रशासनलाई संयमित भएर शान्ति सुरक्षा कायम गर्न आग्रह गरेका छन्। साथै, स्थानीय समाजका अगुवा, बुद्धिजीवी, युवा तथा राजनीतिकर्मीलाई सामाजिक सद्भाव र शान्ति कायम गर्न भूमिका खेल्न अपिल गरेका छन्।
सोनलले आदित्य पासवानसहित सबै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।






