काठमाडाैँ – नेपाल प्रिमियर लिगमा बिराटनगरले पहिलो जित निकालेको छ। वर्षाका कारण ओसीलो बनेको मैदानमा ५ ओभरको खेल खेलाउने निर्णय भएको थियो। तर सुदुरपश्चिमले ओसिलो मैदानलाइ कारण देखाएर लामो समय खेल्न आनाकानी गरेको थियो।
क्यान र दर्शकको हुटिङ र लामो समयको छलफलपछि सुदूरपश्चिम ५ ओभरको खेल खेल्न तयार भएको थियो। तर सुदूरपश्चिम विराटनगर सँग ३५ रनले पराजित भयो।
बिराटनगरले सुदूरपश्चिम समक्ष जितका लागि १ सय ६ रनको उच्च लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा सुदुरपश्चिम ७० रन मात्र बनाउन सकेपछि बिराटनगरले तेस्रो खेलमा महत्वपूर्ण २ अंक जोड्यो।
बिराटनगर यसअघिको २ खेलमा पराजित भएकाले आज जति ओभरको खेल भएपनि खेल्नै पर्ने दबाबमा थियो। प्लेअफ सम्भावना कायम राख्नका लागि समेत मह्तवपूर्ण मानिएको खेलमा बिराटनगरले जित हासिल गरेको हो।
पहिले ब्याटिङ गरेको बिराटनगरका लागि शेहान जयसूर्याले सर्वाधिक ३९ रन बनाए। उनले ११ बलमा २ चौका र ५ छक्का प्रहार गर्दा लोकेश बम २५ रनमा अविजित रहे। लोकेशले १० बलमा १ चौका र ३ छक्का प्रहार गरेका थिए। जयसूर्या आउट भएपछि क्रिजमा आएका आन्द्रे रसेलले १० बलमा २९ रनको अविजित इनिङ खेले।
जवाफमा सुदुरपश्चिम सुरुवातबाटै कमजोर देखियो। उसले निर्धारित ५ ओभरमा ३ विकेट गुमाएर ७० रनमात्र बनाउन सक्यो। उसका लागि स्कट कुग्लिङले ६ बलमा २८ रनको इनिङ खेल्दा सुरुवात भने खराब रह्यो। थप दोहोरो स्कोरका रुपमा साइफ जाइबले १७ रन बनाउँदा आरिफ शेखेले पनि १७ रन बनाएका थिए।






