चक्रवातका बीच पनि रोकिएन पुरीको जगन्नाथ मन्दिरमा ध्वजा परिवर्तनको परम्परा

1200x150_1200x150-01.jpg (1)

पुरी , कार्तिक १७ –

भारतको ओडिशास्थित प्रसिद्ध जगन्नाथ मन्दिरमा चक्रवात ‘अर्नव’को प्रभावका बाबजुद धार्मिक अनुष्ठान तथा ध्वजा परिवर्तनको परम्परा जारी रहेको घटनाले चर्चा पाएको छ ।

पुरीस्थित भगवान जगन्नाथ मन्दिरमा तीव्र हावाहुरी र मुसलधारे वर्षाका बीच पनि सेवायतहरूले मन्दिरको शिखरमा दीप बोकेर परिक्रमा तथा ध्वजा परिवर्तनको धार्मिक विधि पूरा गरेका छन् । यस क्रममा बोकेको दीपको ज्योति हावाहुरी र वर्षाका बीच पनि निभेको नदेखिएको भन्दै विभिन्न सञ्चारमाध्यमले समाचार प्रकाशित गरेका छन् ।

अक्टोबर ३० मा सार्वजनिक भएको भिडियोमा तीन जना सेवायत करिब २१४ फिट अग्लो मन्दिरको शिखरमा पुगेर नीलचक्रमा रहेको पवित्र ध्वजा परिवर्तन गरिरहेको देखिन्छ । चक्रवातका कारण ध्वजा अल्झिएपछि उनीहरूले जोखिमपूर्ण अवस्थामा उक्त परम्परा पूरा गरेका थिए ।

भारतीय सञ्चारमाध्यम अमर उजालाका अनुसार प्रतिकूल मौसमका बाबजुद मन्दिरको शताब्दीयौँ पुरानो ध्वजा परिवर्तन गर्ने परम्परा रोकिएन । न्यूज२४ अनलाइनले पनि सेवायतहरूले वर्षा र तीव्र हावाबीच दीपसहित धार्मिक विधि पूरा गरेको जनाएको छ ।

यस घटनालाई श्रद्धालुहरूले भगवान जगन्नाथको कृपा र शक्तिको चमत्कारका रूपमा व्याख्या गरेका छन् । यद्यपि, यसलाई धार्मिक आस्था र विश्वासका रूपमा बुझ्नुपर्ने हुन्छ ।

चक्रवातका कारण मन्दिरको पवित्र पतितपावन ध्वजा च्यातिएको र त्यसमा गाँठो परेको समाचारसमेत सार्वजनिक भएको थियो । स्थानीय धार्मिक मान्यताअनुसार उक्त गाँठोलाई ‘शून्य ग्रन्थि’ भनिन्छ । श्रद्धालुहरूले यसलाई शुभ संकेतका रूपमा समेत लिएका छन् ।

प्रतिकूल प्राकृतिक अवस्थाका बीच पनि मन्दिरको परम्परागत पूजा तथा ध्वजा परिवर्तनको विधि निरन्तर जारी रहनुले जगन्नाथ मन्दिरलाई पुनः चर्चामा ल्याएको छ ।

भर्खरै

सम्बन्धित पोस्टहरुः