४४ लाख ६४ हजार रुपैयाँसहित दुई जना रौतहटमा पक्राउ

1200x150_1200x150-01.jpg (1)

रौतहट/रौतहट प्रहरीले भारतबाट मोटरसाइकलमा लुकाएर ल्याइएको ३० लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। उनको बयानका आधारमा गौरस्थित एक व्यापारिक प्रतिष्ठानमा खानतलासी गर्दा थप १४ लाख ६४ हजार ६५० रुपैयाँ बरामद भएपछि पसल सञ्चालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार विशेष सूचनाका आधारमा खटिएको टोलीले इशनाथ नगरपालिका–४ महुलियास्थित काली मन्दिर नजिक बुधबार दिउँसो करिब साढे ३ बजे भारतबाट नेपाल प्रवेश गरेको म.प्र. ०५-००१ प ०५७८ नम्बरको मोटरसाइकल जाँच गरेको थियो।

जाँचका क्रममा मोटरसाइकलको इन्धन ट्यांकीमुनि गोप्य रूपमा फल्स बटन बनाई लुकाइएको अवस्थामा ३० लाख रुपैयाँ फेला परेको थियो। उक्त रकमसहित मोटरसाइकल चालक भारतको बिहारस्थित पूर्वी चम्पारण जिल्लाको फुलवरिया-१३ निवासी ३० वर्षीय सनीकुमार जयसवाललाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रारम्भिक सोधपुछका क्रममा जयसवालले उक्त रकम गौर नगरपालिका-१ स्थित न्यु तराई ट्रेडर्सका सञ्चालक ५१ वर्षीय शेख कमरुललाई बुझाउन ल्याएको बताएपछि प्रहरीले उक्त प्रतिष्ठानमा खानतलासी गरेको थियो। प्रहरी निरीक्षक जीवनकुमार मैनालीको नेतृत्वमा पुगेको टोलीले पसलबाट थप १४ लाख ६४ हजार ६५० रुपैयाँ बरामद गरेको रौतहट प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक बसन्त गौतमले जानकारी दिए।

प्रहरीले बरामद भएको कुल ४४ लाख ६४ हजार ६५० रुपैयाँसहित दुवै जनालाई नियन्त्रणमा लिएर रकमको स्रोत तथा कारोबारको प्रकृतिबारे अनुसन्धान अघि बढाएको जनाएको छ।

सीमावर्ती क्षेत्रमा लुकाइछिपाइ ठूलो परिमाणमा नगद ओसारपसार भइरहेको यो घटनाले अवैध आर्थिक कारोबारको आशंकालाई थप बल दिएको छ। प्रहरीले बरामद रकम हुण्डी कारोबारसँग सम्बन्धित भए–नभएको विषयमा अनुसन्धान गरिरहेको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः