प्रहरीको गोली लागेर घाइते आदित्यको अवस्था बुझ्न सांसद अन्सारी अस्पतालमा

1200x150_1200x150-01.jpg (1)

बारा , कार्तिक १७ –

बाराको फेटा गाउँपालिकामा प्रहरीको गोली लागेर घाइते भएका १५ वर्षीय आदित्य पासवानको स्वास्थ्य अवस्थाबारे जानकारी लिन बारा निर्वाचन क्षेत्र नम्बर ४ का सांसद रहबर अन्सारी काठमाडौंस्थित अस्पताल पुगेका छन् ।

थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएका आदित्यको उपचार भइरहेको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा आइतबार पुगेर सांसद अन्सारीले परिवारका सदस्यसँग भेटघाट गरेका हुन् ।

भेटका क्रममा उनले आदित्यका बुबा तथा परिवारका अन्य सदस्यसँग कुराकानी गर्नुका साथै उपचारमा संलग्न चिकित्सकहरूसँग स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अन्सारीले वीरगंजमा प्रारम्भिक उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी र काठमाडौंमा उपचार गरिरहेको चिकित्सकीय टोलीप्रति आभार व्यक्त गरेका छन् । उनले आदित्य शीघ्र स्वस्थ भएर घर फर्किने विश्वास व्यक्त गर्दै उपचार र परिवारलाई आवश्यक सहयोग गर्न आफूहरू साथमा रहेको बताएका छन् ।

घटनालाई गम्भीर रूपमा लिएको उल्लेख गर्दै सांसद अन्सारीले प्रहरीलाई गोली चलाउनुपर्ने अवस्था कसरी सिर्जना भयो भन्ने विषयमा गहिरो, निष्पक्ष र तथ्यपरक छानबिन गर्न माग गरेका छन् । दोषी जोसुकै भए पनि वा जुनसुकै पद तथा राजनीतिक संरक्षणमा रहे पनि कानुनी कारबाहीबाट उम्किन नपाउने उनको भनाइ छ ।

राजनीतिक असहमतिका कारण कुनै निर्दोष नागरिकले ज्यान जोखिममा पार्नुपर्ने अवस्था स्वीकार्य नहुने बताउँदै उनले आदित्यको उपचारसँगै घटनामा न्याय सुनिश्चित हुनुपर्नेमा जोड दिएका छन् । उपचार र न्यायका लागि आवश्यक पहल जारी राख्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।

भर्खरै

सम्बन्धित पोस्टहरुः