पर्सा , कार्तिक २८ –
वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित श्री छठ पूजा व्यवस्थापन समितिले छठ महापर्वका लागि यसवर्ष १९ लाख रुपैयाँको अनुमानित खर्च विवरण सार्वजनिक गरेको छ।
अध्यक्ष राजकुमार गुप्ताको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा समितिका कोषाध्यक्ष शम्भुप्रसाद गुप्ताले उक्त विवरण सार्वजनिक गरे।
सार्वजनिक विवरणअनुसार टेन्टका लागि १० लाख, पुरस्कारका लागि ५ लाख १९ हजार, मूर्तिका लागि ५० हजार, फ्लेक्स प्रिन्टका लागि ३५ हजार तथा महाआरती र चटाईका लागि ३०–३० हजार रुपैयाँ छुट्याइएको छ। त्यस्तै, ताना, क्यामेरा, माटी र विविध शीर्षकमा पनि रकम विनियोजन गरिएको छ।
समितिले चन्दा र चिठ्ठामार्फत १६ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ। जसमा चन्दाबाट ११ लाख र चिठ्ठाबाट ५ लाख रुपैयाँ संकलन हुने अपेक्षा गरिएको छ।
यस वर्ष महाआरती, चटाई, ताना, थप बत्ती जडान तथा ५० जना स्वयंसेवक परिचालन गर्ने कार्यक्रमसमेत समावेश गरिएको छ। समितिले छठको पारदर्शी हिसाब एक साताभित्र उपलब्ध गराउने र चिठ्ठाको नतिजा तीन दिनभित्र पत्रिकामा प्रकाशित गर्ने जनाएको छ।
पत्रकार सम्मेलनमा उपाध्यक्ष राजकुमार श्रेष्ठ, सचिव सुनिल मण्डललगायत समितिका पदाधिकारीहरूको उपस्थिति थियो।







