जनकपुरधाम । जनकपुरधाम र भारतको अयोध्याधामलाई जोड्ने अन्तरदेशीय रेल सेवा ‘सरयू–कमला एक्सप्रेस’ को टिकट बुकिङ खुला भएको छ । भारतीय रेलवे खानपान तथा पर्यटन निगम (आईआरसीटीसी) को अनलाइन प्रणालीमा रेलको समयतालिका र विभिन्न श्रेणीका टिकट भाडा सार्वजनिक भएसँगै बुकिङ सुरु भएको हो ।
सार्वजनिक समयतालिकाअनुसार रेल नम्बर १५५९५ आगामी नोभेम्बर २८ अर्थात् मंसिर १३ गते शनिबारदेखि नियमित सञ्चालनमा आउनेछ । उक्त रेल प्रत्येक शनिबार दिउँसो १:१० बजे जनकपुरधामबाट प्रस्थान गरी करिब १९ घण्टाको यात्रापछि आइतबार बिहान ८:१० बजे भारतीय समयअनुसार अयोध्या क्यान्ट पुग्नेछ ।
त्यस्तै, फर्किने क्रममा रेल नम्बर १५५९६ प्रत्येक सोमबार साँझ ५:५० बजे अयोध्या क्यान्टबाट प्रस्थान गरी मंगलबार दिउँसो १२:४० बजे जनकपुरधाम आइपुग्ने तालिका रहेको छ ।
रेलमा यात्रुका लागि चार श्रेणीका कोचको व्यवस्था गरिएको छ । सार्वजनिक भाडादरअनुसार स्लिपर क्लासको टिकट भारु ३६५, एसी थ्री टियर इकोनोमीको भारु ८८५, एसी थ्री टियरको भारु ९६५ र एसी टु टियरको भारु १ हजार ३६० तोकिएको छ ।
प्रचलित सटही दरअनुसार नेपाली रुपैयाँमा स्लिपरको ५८४, एसी थ्री टियर इकोनोमीको १ हजार ४१६, एसी थ्री टियरको १ हजार ५४४ र एसी टु टियरको २ हजार १७६ रुपैयाँ पर्छ । अनलाइन टिकट काट्दा सेवा शुल्क तथा कर थप लाग्न सक्नेछ ।
यस रेलमा तत्काल टिकट (तत्काल) तथा आरएसी सुविधा नरहने र यात्रुले अग्रिम रूपमा कन्फर्म टिकट लिनुपर्ने व्यवस्था रहेको जनाइएको छ । साथै, नेपाल र भारतका नागरिकले मात्र वैध सरकारी परिचयपत्रका आधारमा यात्रा गर्न पाउनेछन् । सीमासम्बन्धी अध्यागमन तथा अन्य जाँचका लागि जयनगर स्टेसनमा रेल रोकिने व्यवस्था गरिएको छ ।
जनकपुरधाम र अयोध्याबीच सिधा रेल सेवा सञ्चालनले धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउनुका साथै रामायण सर्किटअन्तर्गत धार्मिक पर्यटन प्रवर्द्धन र दुई देशका नागरिकको आवागमनमा सहजता ल्याउने अपेक्षा गरिएको छ ।







