सिरहा , मङ्सिर १० –
सिरहाको मिर्चैयाबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ।
मिर्चैया नगरपालिका–३ बलुवाटोलस्थित भित्री सडकखण्डमा मंगलबार राति करिब १०ः३५ बजे चेकजाँचका क्रममा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार प्रदेश २–०२–०१० प ३१८९ नम्बरको मोटरसाइकलमा तीन जना सवार रहेको अवस्थामा प्रहरी टोलीलाई देखेपछि एक जना फरार भएका थिए। पक्राउ पर्नेमा धनुषाको शहीदनगर नगरपालिका–९ का १८ वर्षीय रजनिश यादव र सिरहाको मिर्चैया नगरपालिका–११ का २० वर्षीय नितेश कुमार साह रहेका छन्।
चेकजाँचका क्रममा साहले बोकेको प्लास्टिकको पोकोबाट ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ। प्लास्टिकसहित २४ ग्राम १९० मिलिग्राम र प्लास्टिकबाहेक २२ ग्राम ५ मिलिग्राम तौल भएको ब्राउन सुग बरामद गरिएको हो।
फरार हुनेमा सिरहाको कल्याणपुर नगरपालिका–४ का २० वर्षीय कौशिन्द्र साह रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै युवक र मोटरसाइकललाई इलाका प्रहरी कार्यालय मिर्चैयामा राखेर थप अनुसन्धान भइरहेको छ।








