वीरगंज, ७ माघ । जिल्ला प्रशासन कार्यालय पर्साले इजाजत प्राप्त हातहतियार तोकिएको समयभित्र बुझाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलले व्यक्तिगत सुरक्षाका लागि स्थानीय प्रशासनबाट अनुमति लिएर राखिएका सबै प्रकारका हातहतियार तथा खरखजाना माघ २० गतेभित्र जिल्ला प्रहरी कार्यालय पर्सा वा नजिकको प्रहरी कार्यालयमा बुझाउन अनुरोध गरिएको हो ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण तथा विश्वसनीय वातावरणमा सम्पन्न गराउने उद्देश्यले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ। प्रशासनका अनुसार बुझाइएका हातहतियारहरू आगामी चैत २० गतेपछि सम्बन्धीत हतियार धनीलाई फिर्ता गरिनेछ। तोकिएको समयभित्र हातहतियार नबुझाएमा वा प्रशासनको निर्देशन अटेर गरेमा कानुनबमोजिम कडा कारबाही गरिने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।














