एसइई परीक्षामा बरामद गरिएको मोबाइल नष्ट

1200x150_1200x150-01.jpg (1)

सिरहा, २२ जेठ ।

माध्यमिक शिक्षा परीक्षा (एसइई) को मर्यादा विपरीत परीक्षा हलभित्र प्रयोग गरिएका ठुलो संख्याका मोबाइल र स्मार्टवाचहरू सिरहामा नष्ट गरिएको छ। परीक्षाका क्रममा विभिन्न केन्द्रहरूबाट जफत गरिएका करिब १ करोड रुपैयाँ बराबरका विद्युतीय उपकरणहरू स्थानीय प्रशासनले नष्ट गरेको हो।

जिल्ला परीक्षा समन्वय समिति र स्थानीय प्रशासनको सक्रियतामा परीक्षा नियम उल्लंघन गरी भित्र लगिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी कुल ५०१ थान उपकरणहरू नष्ट गरिएको जनाइएको छ।

जफत गरिएका ती बहुमूल्य मोबाइल र स्मार्टवाचहरू पुनः प्रयोगमा आउन नसक्ने गरी पूर्ण रूपमा नष्ट गरिएको छ। स्थानीय प्रशासन, शिक्षा अधिकारी, नेपाल प्रहरी तथा स्थानीय सञ्चारकर्मीहरूको प्रत्यक्ष उपस्थितिमा ती सबै उपकरणहरूलाई पानीले भरिएको ड्रममा डुबाएर नष्ट गरिएको हो।

परीक्षालाई अमर्यादित बनाउने र प्रविधिको दुरुपयोग गरी चिट चोर्ने/चोराउने कार्यलाई निरुत्साहित गर्न प्रशासनले यस्तो कडा कदम चालेको स्थानीय अधिकारीहरूले बताएका छन्।

“परीक्षाको संवेदनशीलता र मर्यादालाई कायम राख्न नियम विपरीत ल्याइएका उपकरणहरू जफत गरिएको थियो। भविष्यमा यस्ता गतिविधि नदोहोरिउन् र डिजिटल माध्यमबाट हुने विकृति रोकियोस् भन्नका लागि यी सामानहरू नष्ट गर्ने निर्णय गरिएको हो,” स्थानीय प्रशासनका एक अधिकारीले जानकारी दिए।

यसअघि पनि परीक्षाका क्रममा मोबाइल फोनका कारण परीक्षा सेन्टरहरूमा अमर्यादित गतिविधि बढेको गुनासो आएपछि यस वर्ष सिरहामा सुरक्षा र जाँचमा निकै कडाइ गरिएको थियो। प्रशासनको यो कदमले आगामी दिनमा विद्यार्थी र अभिभावकहरूलाई परीक्षाको मर्यादा पालना गर्न सचेत गराउने विश्वास लिइएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः