बारा , जेठ – २२
बाराको जितपुरसिमरा उपमहानगरपालिका–९ छातापिप्रास्थित त्रिवेणी स्पाइनिङ धागो उद्योगमा बशुक्रबार बिहान भीषण आगलागी भएको छ।
विद्युत् सर्ट भई आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। बिहान करिब १०:४० बजे आगलागी भएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय जितपुर, सिमरा, सशस्त्र प्रहरी तथा औद्योगिक सुरक्षा बेसलगायतको टोली परिचालित भएको थियो।
आगो नियन्त्रणका लागि जितपुरसिमरा, कलैया, अमलेखगञ्ज, वीरगंज लगायतका विभिन्न निकायका १२ वटा दमकल प्रयोग गरिएको थियो।
साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त प्रयासमा करिब १२:३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
आगलागीबाट कपास, मेसिनरी सामग्री तथा गोदाम भवनसहित ठूलो मात्रामा क्षति भएको छ। प्रारम्भिक विवरणअनुसार करिब १८० टन कपास, आरसीसी पर्खाल भएको टिनले छाएको गोदाम भवन, कन्डेन्सर मेसिन २ थान, एमबीओ मेसिन १ थान र एमओ मेसिन १ थान जलेर नष्ट भएको छ।
घटनामा भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।






