वीरगंज, ४ असार ।
१२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भारतको महावाणिज्य दूतावास, वीरगंजले पोखरियामा योग शिविर सम्पन्न गरेको छ ।
पोखरिया नगरपालिका तथा रानीगंज आयुर्वेद अस्पतालको सहकार्यमा श्री जिल्ला उच्चाङ्गल रामदेव कलवार माध्यमिक विद्यालय परिसरमा विशेष योग कार्यक्रम आयोजना गरेको हो ।
“स्वस्थ वृद्धावस्थाका लागि योग” भन्ने मूल नारासहित सम्पन्न उक्त कार्यक्रममा विद्यार्थी, शिक्षक, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारण गरी ३५० भन्दा बढी योगप्रेमीहरूको उत्साहजनक सहभागीता रहेको थियो।
महावाणिज्य दूतावासले अन्तर्राष्ट्रिय योग दिवस–२०२६ को अवसरमा विभिन्न स्थानमा सञ्चालन गरिरहेको योग कार्यक्रम शृंखलाअन्तर्गत यो चौथो कार्यक्रम रहेको जनाइएको छ। कार्यक्रममार्पmत योगको महŒव, स्वस्थ जीवनशैली तथा शारीरिक–मानसिक सन्तुलनका लागि योगको भूमिकावारे सहभागीहरूलाई जानकारी गराइएको थियो।
कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननीय श्याम प्रसाद पटेल रहनुभएको थियो। त्यसैगरी पोखरिया नगरपालिकाका नगरप्रमुख प्रद्युम्न प्रसाद चौहान, उपप्रमुख रूबी कुमारी ठाकुर, पूर्व नगरप्रमुख दिपनारायण रौनियारलगायत जनप्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै भारतका महावाणिज्य दूत देवी सहाय मीनाले योग केवल शारीरिक व्यायाम मात्र नभई स्वस्थ, अनुशासित र सन्तुलित जीवन जिउने कला भएको बताउनुभयो। उहाँले योगलाई दैनिक जीवनको अभिन्न अंग बनाएर स्वस्थ शरीर, शान्त मन र सकारात्मक सोचको विकास गर्न सकिने उल्लेख गर्नुभयो। साथै योगले व्यक्तिको समग्र स्वास्थ्य सुधारका साथै समाजमा सद्भाव र सकारात्मक ऊर्जा प्रवाह गर्न महŒवपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो।
प्रमुख अतिथि मन्त्री पटेलले योग मानव स्वास्थ्यका लागि अत्यन्त उपयोगी अभ्यास भएको बताउँदै आधुनिक जीवनशैलीका कारण बढिरहेका विभिन्न स्वास्थ्य समस्याबाट बच्न योग प्रभावकारी माध्यम बन्न सक्ने बताउनुभयो। उहाँले समुदायस्तरमा योगप्रति जनचेतना फैलाउने उद्देश्यले विभिन्न स्थानमा कार्यक्रम सञ्चालन गरिरहेको भारतीय महावाणिज्य दूतावासको प्रयासको प्रशंसा गर्नुभयो।
नगरप्रमुख प्रद्युम्न प्रसाद चौहानले योगले शारीरिक तन्दुरूस्ती मात्र नभई मानसिक शान्ति र आत्मविश्वाससमेत बढाउने भएकाले विद्यार्थीदेखि ज्येष्ठ नागरिकसम्म सबैले नियमित रूपमा योग अभ्यास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले यस्ता कार्यक्रमले युवा पुस्तामा सकारात्मक सोच र स्वस्थ जीवनशैलीको विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।






