वीरगंज, असार १६ —
बाराको जीतपुरस्थित विशाल मार्केट र सिटी मार्केटमा शनिबार मध्यराति भएको चोरीले व्यवसायीलाई स्तब्ध बनाएको छ। चोरहरूको समूहले भवनको छाना काटेर बजारभित्र प्रवेश गरी नगद, कपडा, खाद्य सामग्री र सीसीटीभी क्यामरासहित लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी गरेको प्रारम्भिक अनुमान गरिएको छ।
प्रहरीका अनुसार चोरहरूले पसलभित्रै चटपटे बनाएर खाएका, अर्को पसलमा बिर्यानी खाएर पेय पदार्थसमेत बोकेर गएको पाइएको छ। अनुसन्धान प्रभावित पार्ने उद्देश्यले अधिकांश पसलका सीसीटीभी क्यामरा उखेलेर लगिएको प्रहरीले जनाएको छ।
मुन्ना फेसन, जायदा फेन्सी स्टोर्स, साजहान फेसन, शुद्ध चटपटे पसल, जमजम बिर्यानी हाउस र शाहिन फेन्सी स्टोर्स एण्ड ब्याग हाउसलगायतका पसलमा चोरी भएको छ। विभिन्न पसलबाट नगद, कपडा, ब्याग, पेय पदार्थ र अन्य सामग्री चोरी भएको व्यवसायीहरूले बताएका छन्।
इलाका प्रहरी कार्यालय जीतपुरले घटनाको अनुसन्धान तीव्र बनाएको जनाएको छ। प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान गरी पक्राउ गर्न खोजी अभियान जारी राखेको छ। व्यापारीहरूले दोषीलाई शीघ्र पक्राउ गरी चोरी भएका सामान बरामद गर्न तथा बजार क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाउन माग गरेका छन्।







