वीरगंज, असार १६ —
जिल्ला प्रशासन कार्यालय पर्साले सार्वजनिक स्थानमा राखिएका राष्ट्रिय झण्डाको नियमित मर्मत, फेरबदल तथा संरक्षण गर्न जिल्लाका सबै स्थानीय तहलाई निर्देशन दिएको छ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले जारी परिपत्रमा विभिन्न चोक, पुल, उद्यान तथा सार्वजनिक स्थानमा राखिएका राष्ट्रिय झण्डा च्यातिएको, रङ उडेको र फोहोर अवस्थामा रहेको भन्दै जनगुनासो आएपछि यस्तो निर्देशन दिइएको उल्लेख छ।
प्रशासनले च्यातिएका, रङ उडेका वा फोहोर भएका झण्डा तत्काल हटाई मापदण्डअनुसारका नयाँ झण्डा राख्न, सार्वजनिक स्थानमा रहेका झण्डाको नियमित अनुगमन गर्न, पुराना झण्डालाई कानुनी प्रक्रियाअनुसार सुरक्षित रूपमा विसर्जन गर्न तथा झण्डा राखिएका स्थानको सरसफाइ र सुरक्षाको जिम्मेवारी स्थानीय तहले लिन निर्देशन दिएको छ।
परिपत्रमा राष्ट्रिय झण्डा राष्ट्रको गौरव, स्वाभिमान र पहिचानको प्रतीक भएकाले यसको सम्मान र मर्यादा कायम राख्नु सबैको साझा संवैधानिक तथा नागरिक कर्तव्य भएको उल्लेख गरिएको छ।







