वीरगंज , असार १६ —
सन् २०२६ को फिफा विश्वकपमा लियोनेल मेसी, किलियन एम्बाप्पेजस्ता स्थापित खेलाडीसँगै नयाँ पुस्ताका युवा खेलाडीले पनि प्रभावशाली प्रदर्शन गरिरहेका छन्। प्रतियोगितामा सहभागी २१ वर्ष वा सोभन्दा कम उमेरका ८५ खेलाडीमध्ये धेरैले समूह चरणमै आफ्नो क्षमता देखाएका छन्।
सेनेगलका १८ वर्षीय इब्राहिम एमबाये विश्वकप इतिहासकै चौथो कान्छा गोलकर्ता बनेका छन् भने स्पेनका लामिन यमलले पनि साउदी अरेबियाविरुद्ध गोल गर्दै आफ्नो प्रतिभा पुष्टि गरेका छन्।
यस्तै मोरक्कोका अयुब बुआदी, आइभरी कोस्टका यान डियोमान्डे, स्विट्जरल्याण्डका जोहान मान्जाम्बी, बोस्निया–हर्जगोभिनाका केरिमी अलाजबेगोभिच र अस्ट्रेलियाका नेस्टोरी इरानकुन्डाले उत्कृष्ट प्रदर्शन गर्दै फुटबल समर्थकको ध्यान खिचेका छन्।
विशेषगरी मान्जाम्बी, अलाजबेगोभिच र इरानकुन्डाले उमेरसम्बन्धी नयाँ कीर्तिमानसमेत बनाएका छन्। समूह चरणमा देखिएको उनीहरूको प्रदर्शनले विश्व फुटबलमा नयाँ पुस्ताको उदय भएको संकेत दिएको विश्लेषण गरिएको छ।







