वीरगंज, साउन ६ –
जिल्ला प्रहरी कार्यालय, पर्साले आफ्नो इतिहासमै पहिलोपटक सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दा दर्ता गर्दै अवैध वित्तीय कारोबारमा संलग्न व्यक्तिहरूमाथि अनुसन्धान अघि बढाएको छ। नेपाल ग्रे–लिस्टमा परेपछि प्राप्त अधिकार प्रयोग गर्दै प्रहरीले हुण्डी, दोहोरो नागरिकता, क्रिप्टोकरेन्सी तथा अन्य शङ्कास्पद आर्थिक कारोबारमाथि निगरानी बढाएको हो।
प्रहरीका अनुसार यस प्रकरणमा संलग्न दुईजनालाई पर्सा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाइसकेको छ भने अन्य केही व्यक्तिविरुद्ध पनि अनुसन्धान जारी छ। यसअघि यस्ता मुद्दाको अनुसन्धान मुख्यतः सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गर्ने गरेको थियो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकका अनुसार विभिन्न मुद्दामा पक्राउ परेका व्यक्तिहरूको आर्थिक कारोबार अस्वाभाविक देखिएपछि सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा अघि बढाइएको हो।
अनुसन्धानका क्रममा हुण्डी कारोबारमा संलग्न समूहले भारतको रक्सौलबाट अवैध रूपमा रकम नेपाल भित्र्याई विभिन्न बैंक खातामार्फत डिजिटल माध्यमबाट स्थानान्तरण गर्दै आएको खुलेको प्रहरीले जनाएको छ। हालसम्म दुई अर्ब ४१ करोड ७८ लाख रुपैयाँभन्दा बढीको अवैध हुण्डी कारोबार भएको प्रमाण फेला परेको प्रहरीको दाबी छ।
यसैगरी एउटै व्यक्तिले नेपाली र भारतीय दुवै नागरिकता प्रयोग गरी करिब ५० करोड रुपैयाँ बराबरको कारोबार गरेको, अर्को प्रकरणमा क्रिप्टोकरेन्सीमार्फत शङ्कास्पद आर्थिक कारोबार भएको तथा पाँच करोड रुपैयाँभन्दा बढीको स्रोत नखुलेको बैंक कारोबारसमेत अनुसन्धानको दायरामा आएको प्रहरीले जनाएको छ।
प्रहरीले सीमावर्ती क्षेत्रमा हुने हुण्डी, डिजिटल माध्यमबाट हुने मनी लाउन्डरिङ, क्रिप्टोकरेन्सी कारोबार तथा दोहोरो पहिचानमार्फत हुने वित्तीय अपराध नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ। अनुसन्धानका क्रममा थप व्यक्ति, बैंक खाता तथा शङ्कास्पद कारोबार पनि अनुसन्धानको दायरामा आउने सम्भावना रहेको प्रहरीले जनाएको छ।






