पर्साबाट २३ लाखभन्दा बढीका अवैध सामान र सवारीसाधन बरामद

1200x150_1200x150-01.jpg (1)

वीरगंज , साउन १८ —

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले दुई दिनको अवधिमा भन्सार छली गरी ल्याइएका २३ लाख ५८ हजार ९० रुपैयाँ बराबरका विभिन्न सामान तथा सवारीसाधन बरामद गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार साउन १७ र १८ गते सीमा सुरक्षा गुल्म वीरगञ्ज, भिखमपुर तथा बिओपी सिर्सियाबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा पर्साका विभिन्न सीमा क्षेत्रमा चेकजाँच तथा निगरानीका क्रममा उक्त सामान बरामद गरेको हो।

बरामद गरिएका सामानमा कपडा, फलफूल, हार्डवेयर सामग्री, कम्प्युटरका सीपीयू प्रोसेसर, मोटरसाइकलका पार्टपुर्जा, किराना सामान, कस्मेटिक सामग्री, मदिरालगायत रहेका छन्। साथै तस्करीमा प्रयोग भएका म्याजिक भ्यान, टाँगा र घोडासमेत नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।

यो कारबाही वीरगञ्ज महानगरपालिका–१४ गण्डक चोक, वडा नं. १६ इनर्वा, भगवा तथा वडा नं. १ छप्कैयालगायतका सीमा क्षेत्रमा गरिएको थियो।

बरामद गरिएका सम्पूर्ण सामान तथा सवारीसाधन आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बलका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिएका छन्।

सम्बन्धित पोस्टहरुः