काठमाडौं, १८ साउन । सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये प्रभात तिवारी लागूऔषध सम्बन्धी मुद्दामा फरार अभियुक्त रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
लागुऔषध भण्डारण तथा कारोवार भइरहेको भन्ने विशेष सूचनाका आधारमा एपीएफ इनटेलिजेन्स ब्युरोबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुवर्ण थापा र सशस्त्र प्रहरी निरीक्षक रबिन्द्र भट्ट नेतृत्वको टोलीले सोमवार दिउँसो करिब १२ः३० बजे छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१ नागपोखरीका ४३ वर्षीय प्रभात तिवारी, सर्लाहीको मलंगवा नगरपालिका–८ निवासी सुजन रायमाझी, काठमाडौं महानगरपालिका–१४ बल्खुका भूपेन्द्र श्रेष्ठ तथा ललितपुर महानगरपालिका–४ बागडोलका ५१ वर्षीय सविन श्रेष्ठ रहेका छन। उनीहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया अघि बढाइएको एपीएफले जनाएको छ।
कारबाहीका क्रममा प्रहरीले २९६.७५ ग्राम खैरो हेरोइन, बा ७ च ५१८० नम्बरको होन्डा कार, ट्रामाडोल २२० क्याप्सुल, नाइट्रोभेट १३० क्याप्सुल, चार थान एन्ड्रोइड मोबाइल, तीन थान ल्यापटप, एक थान प्रिन्टर, दुर्ई थान सञ्चार सेट, लागूऔषधमा मिसाउन प्रयोग हुने २२ वटा रासायनिक पदार्थ (केमिकल) का बोतल तथा अन्य सामग्री बरामद गरेको छ।
त्यसैगरी, एक लाख ९८ हजार ३७५ रुपियाँँ नगद, ३३ अमेरिकी डलर, २० भारतीय रुपियाँँ र एक हजार जापानी येन समेत बरामद भएको जनाइएको छ।
एपीएफका अनुसार पक्राउ परेका प्रभात तिवारी लागूऔषध सम्बन्धी मुद्दामा फरार अभियुक्त रहेका छन। घटनावारे थप अनुसन्धान जारी रहेको छ।
एपीएफ इन्टेलिजेन्स ब्युरोले पछिल्लो एक महिनायता काठमाडौं उपत्यकामा विशेष अपरेशन सञ्चालन गर्दै विभिन्न स्थानबाट लागूऔषध कारोवारीलाई पक्राउ गर्नुका साथै ठूलो परिमाणमा लागूऔषध बरामद गर्दै आएको जनाएको छ।






