वीरगंज, १८ साउन । साउन ६ गते बिहान पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा मृत भेटिएकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको शव विगत १३ दिनदेखि नारायणी अस्पतालमा रहेको भन्दै परिवारजनले पोष्टमार्टम रिपोर्ट गलत भएको आरोप लगाएका छन् ।
पर्सा जिल्लाको ठोरी गापा–३ रामनगरमा माइती भएकी दुर्ई सन्तानकी आमा लक्ष्मी साउन ६ गते बिहान आफ्नै घर छेउको गोठमा मृत फेला परेकी थिइन् । तर उनको मृत्यु आत्महत्याका कारण नभई हत्या गरेर शव गोठमा झुण्ड्याइएको भन्दै माइती पक्षको आरोप छ ।
मृतक लक्ष्मीको शव नारायणी अस्पतालमा पोष्टमार्टम गरेपनि माइती पक्षले नबुझेका कारण लक्ष्मीको शव ११ दिन देखि अस्पतालकै शवगृहमा राखिएको छ । माइती पक्षले अस्पतालको पोष्टमार्टम रिपोर्ट गलत रहेको भन्दै शव बुझन् मानेका छैनन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार, प्रहरीलाई गत शनिवार अस्पतालबाट प्राप्त पोष्टमार्टम रिपोर्टमा खड्काको मृत्युको कारण हत्या नभई लक्ष्मी आँफैले पासो लगाएर आत्महत्या गरेको भन्ने उल्लेख छ ।
यसैबीच माइती पक्षले सोमवार वीरगंजमा पत्रकार सम्मेलन गरेर लक्ष्मीको कुटपिट गरि हत्या गरिएको भएपनि अस्पतालको पोष्टमार्टम रिपोर्टमा मृत्युको कारण पासो लगाएर आत्महत्या गरेको उल्लेख गरिएको बताएका छन् । उक्त रिपोर्ट नै गलत भएको माइती पक्षको आरोप छ ।
पत्रकार सम्मेलनमा मृतकका मामा इनद्र बहादुर बस्नेतले खड्कालाई लक्ष्मीका पतिसहित सासु र ससुराले मिलेर कुटपिट गरि मारेर शव गोठमा झुण्ड्याइ दिएको अवस्थामा भेटिएको बताए । साउन ६ गते बिहान गोठमा आँफुहरू गोठमा पुग्दा लक्ष्मीको शव पासो काटेर भुईमा सुताएर राखेको अवस्थामा भेटिएको, गोठमा लक्ष्मीका चुराहरू फुटेर छरिएको अवस्थामा भेटिएको, साउन ५ गते बेलुकी पति र पत्निबीच झगडा भएको,झगडा भएको कोठाको बरण्डा बाहिर रगतको टाटा पनि देखिएको भन्दै मृतकका मामा बस्नेतले भने, घटनास्थलमा भेटिएका दशीप्रमाणले पनि आत्महत्या नभई हत्या नै भएको प्रष्ट देखिन्छ । तर पोष्टमार्टम रिपोर्टमा झुठो कारण देखाइएको छ ।
मृतक लक्ष्मीका आमा र बुबासमेत सहभागी पत्रकार सम्मेलनमा मामा बस्नेतले मृत्युको वास्तविक कारण खुल्ने गरि पोष्टमार्टम रिपोर्ट नआएसम्म र हत्यामा संलग्न्हरूलाई कसूर अनुसारको कारबाही प्रकृया अगाडि नबढाएसम्म शव आँफुहरूले नबुझने पनि बताए ।
उक्त घटनामा मृतक लक्ष्मीका पति सुधिर सिलवाल, सासु, ससुराका साथै सुधिरका दिदी र भिनाजुपनि संलग्न रहेको आरोप माइतीपक्षको छ ।
सोमवारको पत्रकार सम्मेलनमा ठोरी गाँउपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ, उपाध्यक्ष गोकुली रेग्मी, रास्वपाका गाँउपालिका सभापति माधव बस्नेत, स्थानीय अगुवा धीर सिंह लगायतपनि सहभागी थिए ।
यसअघि साउन ११ गतेपनि माइती पक्षका परिवारजन र गाँउलेहरूले र ठोरीबाट सदरमुकाम वीरगंज आएर प्रदर्शन गरेका थिए । त्यसदिन मृतक लक्ष्मीकी माइतीघर रहेको ठोरी गाँउपालिकाकी उपाध्यक्ष गोकुली रेग्मीसहितका महिला अगुवाहरूले प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई भेटेर उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई हदैसम्मको कारबाहीको माग गर्दै ज्ञापनपत्र पनि बुझाएका थिए ।
मृतक लक्ष्मीका माइती पक्षका आफन्तका अनुसार, लक्ष्मीका पति सुधिर नेपाली सेनाका अवकाशप्राप्त कर्मचारी हुन् । लागू पदार्थको सेवनकर्ता समेत रहेका सुधिरले र उनका परिवारका सदस्यले पत्नि लक्ष्मीसगँ पटक पटक झगडा गर्दै कुटपिट गर्ने गरेको माइती पक्षले बताउँदै आएका छन् ।
प्रहरीले भने मृतक लक्ष्मीका पति सुधिरलाई घटना भएकै दिन नियन्त्रणमा लिएर हिरासतमा राखेको जनाएको छ । उनीविरूद्ध ज्यान सम्बन्धी कसुरमा मुद्धा दर्ता गरि कारबाही प्रकृया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक मल्ले बताए ।त्यसदिनै सासु र ससुरालाई पनि प्रहरीले नियन्त्रणमा लिएको भएपनि बृद्ध अवस्थाका कारण मृतककै आफन्तहरूको सहमतिमा उनिहरू दुवै जनालाई प्रहरीले तारेखमा छाडेको जनाएको छ ।






