बारा , कार्तिक ४ –
बाराको जितपुरसिमरा उपमहानगरपालिका–७, जितपुरस्थित ब्रह्मबाबा चौर नजिकको नहरमा एक पुरुष मृत फेला परेका छन्।
मृत फेला पर्नेमा स्थानीय ५६ वर्षीय हरिनारायण सहनी रहेका छन्। उनका छोरा रामविनय सहनीले सोमबार बिहान करिब ६ बजे नहरमा बुबालाई मृत अवस्थामा देखेपछि शव बाहिर निकालेका थिए।
घटनाबारे बिहान ६ः२० बजे प्रहरीलाई जानकारी गराइएको थियो। त्यसलगत्तै घटनाको मुचुल्का तथा प्रारम्भिक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टको नेतृत्वमा घटनास्थल अनुसन्धान विशेषज्ञसहितको प्रहरी टोली खटिएको थियो ।
प्रहरीले प्रारम्भिक प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाएको थियो। पोस्टमार्टमपछि मृतकका छोरा विनय सहनीले शव बुझिलिएको प्रहरीले जनाएको छ।
सहनीको मृत्यु कसरी भएको हो भन्नेबारे खुल्न सकेको छैन। घटनाबारे थप विवरण सार्वजनिक भएको छैन।






