बारा, कात्तिक ८ —
बाराको कोल्हवी नगरपालिका–२ निकास टोलमा अचेत अवस्थामा फेला परेका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। मृतकको पहिचान खुल्न नसकेपछि प्रहरीले आफन्त तथा चिनजानका व्यक्तिलाई सम्पर्क गर्न आग्रह गरेको छ।
प्रहरीका अनुसार शनिबार दिउँसो करिब ३ः२५ बजे खेतको डिलमा अचेत अवस्थामा पुरुष रहेको सूचना प्राप्त भएको थियो। त्यसपछि इलाका प्रहरी कार्यालय कोल्हवीबाट खटिएको टोलीले उनलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कलैया पठाएको थियो। उपचारकै क्रममा साँझ ५ः२० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतक अन्दाजी ६० देखि ६२ वर्ष उमेरका, कालो वर्णका र करिब ५ फिट ६ इन्च अग्ला छन्। उनको कपाल सेतो रहेको छ। उनले सेतोमा हरियो धर्सा भएको गम्छा, सेतो र खैरो धर्का भएको सर्ट तथा सुन्तला रङको धोती लगाएका थिए। उनको दाहिने हातको नाडीमा रातो धागो र दाहिने हातको साइँली औँलामा औँठी रहेको प्रहरीले जनाएको छ।
मृतकको शव प्रादेशिक अस्पताल कलैयामा सुरक्षित राखिएको छ। उनलाई चिन्नुहुने व्यक्ति वा आफन्तलाई जिल्ला प्रहरी कार्यालय बारामा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।






