वीरगंज, ९ कात्तिक ।
बारा जिल्लामा सर्पदंशबाट एक ४ वर्षीय बालकको ज्यान गएको छ। भारतको बिहार राज्यस्थित पूर्वी चम्पारण पकडिया घर भई हाल मामाघरमा बस्दै आएका बालकको विषालु कोब्रा सर्पको डसाइबाट मृत्यु भएको हो।
प्रहरीका अनुसार, भारतको पूर्वी चम्पारण पकडिया स्थायी घर भएका गजेन्द्र प्रसाद पालका ४ वर्षीय छोरा आदित्य प्रसाद पाल विगत एक महिनादेखि आमाको साथमा बाराको विश्रामपुर गाउँपालिका वडा नं. ५ इटियाहीस्थित मामाघरमा बस्दै आएका थिए।
मिति २०८३ साल असोज (कार्तिक) ८ गते साँझ अन्दाजी १७:३० बजेको समयमा मामाघर अगाडि खेलिरहेको अवस्थामा उनलाई विषालु कोब्रा सर्पले बायाँ खुट्टामा टोकेको थियो। सर्पको डसाइबाट गम्भीर घाइते भएका बालकलाई तत्काल उपचारका लागि वीरगंजस्थित नारायणी अस्पताल ल्याइएको थियो। अस्पताल पुर्याउनासाथ चिकित्सकले जाँच (ECG) गर्दा साँझ १८:०० बजे उनको मृत्यु भइसकेको पुष्टि गरेका थिए।
घटनाको जानकारी पाएलगत्तै नारायणी अस्पतालमा खटिएका प्रहरी कर्मचारीमार्फत साँझ १८:२७ बजे प्रहरी चौकी मुसहर्वा, बारामा खबर प्राप्त भएको थियो। सो लगत्तै प्रहरी नायब निरीक्षक (प्र.ना.नि.) मनोज साह सोनारको कमाण्डमा प्रहरी टोली घटनास्थल तथा अस्पतालतर्फ खटिएको थियो।
कानूनी प्रक्रिया तथा मुचुल्कापश्चात राति १९:४० बजे बालकको शव उनका मामा जितेन्द्र कुमार पालले नारायणी अस्पतालबाट बुझी घरमा ल्याई राखेको प्रहरीले जनाएको छ। घटना, चाडपर्वको समयमा घरमा खेल्दै गरेका अबोध बालकको अकलमृत्युले परिवार र गाउँमा शोकको वातावरण छाएको छ।






