पर्सा, कात्तिक ९ —
भारतको बिहारस्थित रक्सौलको एलसी–३३ रेल्वे क्रसिङमा प्रस्तावित रेल्वे ओभरब्रिज (आरओबी) को लेआउट प्लान सार्वजनिक गरिएको छ। पूर्व मध्य रेल्वेका महाप्रबन्धकको पत्रका आधारमा निर्माणसम्बन्धी उपमुख्य इन्जिनियरले उक्त नक्सा शिक्षाविद् डा. स्वयंभू शलभलाई पठाएका हुन्।
डा. शलभका अनुसार प्रस्तावित ओभरब्रिज नेपालतर्फबाट भारतीय भन्सार कार्यालय नजिक सुरु हुनेछ। सुरुमा ८० मिटर लामो आरई वालसहितको पहुँच सडक निर्माण गरिनेछ। त्यसपछि ३६० मिटर लामो भायडक्ट ओभरब्रिज बनाइने योजनामा उल्लेख छ। रेल्वे लाइनमाथिको १२० मिटर भागमा स्ल्याब निर्माण गरिनेछ।
योजनाअनुसार ओभरब्रिजमा प्रत्येक २० मिटरको दूरीमा पी–१ देखि पी–११ सम्म ११ वटा पिलर रहनेछन्। आरई वालका दुवै छेउमा ए–१ र ए–२ नामका दुईवटा अबटमेन्टसमेत निर्माण गरिनेछ।
ओभरब्रिजको दक्षिणी भागमा २१५ मिटर लामो आरई वाल निर्माण गरी रक्सौल प्रहरी थानासम्म पुर्याउने योजना रहेको छ। पिलरहरूबीचको भाग खुला राखिने भएकाले पूर्वी र पश्चिमी सर्भिस रोडबीच आवागमन सहज हुने जनाइएको छ।
डा. शलभले प्रस्तावित योजनाका थप प्राविधिक विवरण पछि सार्वजनिक गरिने बताएका छन्। ओभरब्रिज निर्माणको यो योजनाले रक्सौल क्षेत्रमा रेल्वे क्रसिङका कारण हुने आवागमनसम्बन्धी समस्यालाई व्यवस्थित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।







