हेटौँडामा १४ किलो चाँदीसहित चार जना पक्राउ

1200x150_1200x150-01.jpg (1)

मकवानपुर, कात्तिक ९ —

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्टबाट प्रहरीले कारमा लुकाएर ल्याइएको १४ किलो १८० ग्राम चाँदीसहित चार जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार आइतबार दिउँसो करिब ३ः१५ बजे प्रहरी चौकी रातोमाटेका प्रहरी नायब निरीक्षक प्रमोदकुमार साहको कमाण्डमा खटिएको चेकिङ टोलीले भारतको रक्सोलबाट काठमाडौं जाँदै गरेको बा २ च ७०७९ नम्बरको कार रोकेर जाँच गरेको थियो।

जाँचका क्रममा कारका चारवटै ढोकाको भित्री भागमा फल्स बटम बनाई लुकाइएको अवस्थामा चाँदीजस्तो देखिने धातु फेला परेको प्रहरीले जनाएको छ। बरामद धातुको शुद्ध तौल १४ किलो १८० ग्राम रहेको छ।

पक्राउ पर्नेमा भारतको रक्सोल निवासी करिब ५० वर्षीय चालक रमेश कुमार साह सोनार, उनकी ४२ वर्षीया श्रीमती चन्दा देवी सोनार, १७ वर्षीय छोरा र करिब २० वर्षीया भान्जी नन्दनी कुमारी साह रहेका छन्।

प्रहरीले बरामद धातुसहित चारै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखेको छ।

बरामद धातु वास्तविक चाँदी हो वा अन्य कुनै धातु भन्ने पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित पोस्टहरुः