पत्रकार पक्राउ प्रकरणमा रास्वपाको आपत्ति, बिनासर्त रिहाइको माग

1200x150_1200x150-01.jpg (1)

पर्सा , कार्तिक १३  —

समाचार लेखेकै आधारमा सञ्चारगृहमा पुगेर पत्रकारलाई नियन्त्रणमा लिने तथा अन्य पत्रकारको खोजी गर्ने प्रहरी गतिविधिप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आपत्ति जनाएको छ ।

रास्वपाले प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकारमाथिकै प्रहार भएको जनाएको छ । प्रकाशित समाचारप्रति कसैको विमति वा कानुनी प्रश्न भए स्थापित न्यायिक प्रक्रिया र वैधानिक निकायमार्फत निरूपण गर्नुपर्ने पार्टीको भनाइ छ ।

समाचारको स्रोतको गोपनीयता पत्रकारको व्यावसायिक अधिकार र दायित्व भएको उल्लेख गर्दै रास्वपाले सञ्चारकर्मीमाथि धरपकड गर्नु विधिको शासनविपरीत रहेको जनाएको छ । सञ्चारमाध्यमलाई त्रसित पार्ने वा मनोवैज्ञानिक दबाब सिर्जना गर्ने गतिविधि स्वीकार्य नहुने पार्टीको धारणा छ ।

रास्वपाले पत्रकार पक्राउ तथा खोजीसम्बन्धी घटनाको निष्पक्ष र पारदर्शी छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ । साथै, गैरकानुनी रूपमा नियन्त्रणमा लिइएका पत्रकारलाई ससम्मान र बिनासर्त तत्काल रिहा गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ ।

पार्टीले भय र दबाबबिना सत्य तथा तथ्यमा आधारित पत्रकारिता गर्न सञ्चारकर्मीलाई आह्वान गर्दै प्रेस स्वतन्त्रता र पत्रकारको पेसागत सुरक्षाका पक्षमा आफ्नो ऐक्यबद्धता रहेको जनाएको छ ।

भर्खरै

सम्बन्धित पोस्टहरुः