काठमाडौं, कार्तिक १३ —
सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारलाई पक्राउ गर्ने र जनदबाबपछि मात्रै रिहा गर्ने प्रवृत्ति रोक्न नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ ।
कांग्रेस सभापति गगनकुमार थापाले विज्ञप्ति जारी गर्दै समाचार कक्षमै प्रहरी परिचालन गरी पत्रकारलाई नियन्त्रणमा लिने कार्यले शाहीकालीन निरंकुशताको झल्को दिएको बताएका छन् । लोकतन्त्रमा स्वतन्त्र पत्रकारिता आधारस्तम्भ भएको उल्लेख गर्दै उनले यस्ता गतिविधि प्रेस स्वतन्त्रता र विधिको शासनविपरीत रहेको बताएका छन् ।
कुनै सञ्चारमाध्यम वा पत्रकारबाट त्रुटि भए त्यसको निरूपण प्रेस काउन्सिललगायत स्थापित कानुनी तथा संस्थागत प्रक्रियामार्फत हुनुपर्ने कांग्रेसको भनाइ छ । ती प्रक्रिया बेवास्ता गर्दै सञ्चारगृहमै प्रहरी हस्तक्षेप गर्नु निन्दनीय रहेको विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेसले नियन्त्रणमा लिइएका व्यक्तिको संवैधानिक अधिकारको रक्षा गर्न, सञ्चारगृहमा भइरहेको अनावश्यक प्रहरी हस्तक्षेप तत्काल रोक्न र कानुनी प्रक्रियाबाहिर गरिएका कदम सच्याउन सरकारसँग माग गरेको छ ।







