पर्सा , कार्तिक १४ —
पत्रकार पक्राउ, सञ्चारगृहमा धरपकड तथा न्यूजरुममा सरकारी र प्रहरी हस्तक्षेप भएको भन्दै नेपाल पत्रकार महासंघको आह्वानमा पत्रकारहरूले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
वर्षा र झरीको बेवास्ता गर्दै प्रदर्शनमा उत्रिएका पत्रकारहरूले प्रेस स्वतन्त्रताको रक्षा, पत्रकारको सुरक्षा र सञ्चारगृहमा प्रहरी हस्तक्षेप बन्द गर्न माग गर्दै नाराबाजी गरेका थिए ।
प्रदर्शनलाई महासंघका पूर्ववरिष्ठ उपाध्यक्ष रमेश विष्ट र वरिष्ठ पत्रकार देवेन्द्र चुडाललगायतले सम्बोधन गर्दै पत्रकारमाथिको धरपकड तथा समाचार कक्षमा हुने हस्तक्षेप तत्काल रोक्न माग गरेका थिए ।
प्रदर्शनमार्फत पत्रकारहरूले सञ्चारमाध्यमलाई स्वतन्त्र र निर्भीक रूपमा काम गर्ने वातावरण सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन् ।







