बारामा अस्पताल उद्घाटनमा विवाद: १५ वर्षीय किशोरलाई गोली लाग्यो

1200x150_1200x150-01.jpg (1)

बारा, कात्तिक १४ —

बाराको फेटा गाउँपालिकामा नवनिर्मित १५ शय्याको अस्पताल उद्घाटन गर्ने विषयमा विवाद हुँदा प्रहरी र स्थानीयबीच झडप भएको छ। झडपका क्रममा एक १५ वर्षीय किशोर गम्भीर घाइते भएका छन् भने केही अन्य स्थानीय घाइते भएका छन्।

फेटा-३ स्थित फेटा माध्यमिक विद्यालय नजिकै संघीय सरकारको अनुदानमा निर्माण भएको अस्पताल उद्घाटन गर्ने तयारी भइरहेका बेला स्थानीयले प्रयोगशाला, एक्स-रे, बेड तथा चिकित्सक, नर्सलगायत आवश्यक जनशक्ति र पूर्वाधार सुनिश्चित नभएको भन्दै विरोध जनाएका थिए। सोही विषयलाई लिएर विवाद बढ्दा स्थानीय र गाउँपालिका पक्षबीच भनाभन भएको थियो।

स्थिति तनावपूर्ण बनेपछि इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी निरीक्षक सुमन लामाको नेतृत्वमा प्रहरी टोली खटिएको थियो। प्रहरीले भीड नियन्त्रणका लागि हवाई फायर गरेको जनाएको छ।

सोही क्रममा फेटा-३ का धर्मेन्द्र पासवानका १४ वर्षीय छोरा आदित्य पासवानको पेटमा गोली लागेको स्थानीयले बताएका छन्। उनको वीरगंजस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ। चिकित्सकले पेटबाट गोली निकालेको र थप उपचारका लागि काठमाडौं रेफर गर्नुपर्ने हुनसक्ने अस्पताल स्रोतले जनाएको छ।

झडपमा सिमराका एक विद्यालयका प्रधानाध्यापक लालबाबु साह सहित केही स्थानीय सामान्य घाइते भएको बताइएको छ।

घटनापछि आक्रोशित स्थानीयले गाउँपालिका कार्यालय अगाडि राखिएका ९ वटा मोटरसाइकलमा आगजनी गरेको प्रत्यक्षदर्शीले बताएका छन्।

दुवै पक्षको भनाइ

फेटा गाउँपालिकाका पूर्व अध्यक्ष अमिरिलाल पालले प्रहरीले अनावश्यक बल प्रयोग गरेको आरोप लगाउँदै घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्।

यता गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीले भने अस्पताल उद्घाटनमा अवरोध सिर्जना गर्ने समूहकै कारण घटना भएको दाबी गरे। अध्यक्ष अन्सारी साझा विवेकशील पार्टीबाट निर्वाचित भएका थिए, उक्त पार्टी हाल राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित भइसकेको छ।

रास्वपा नेतृ समीक्षा बास्कोटा सोही अस्पताल उद्घाटनका लागि बारा आउनुभएकोमा झडपका कारण बिहान १०:३० बजेपछि कलैयामै रोकिनुभएको बताइएको छ।

प्रशासन के भन्छ ?

बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले घटनाबारे अनुसन्धान भइरहेको र अहिले फेटाको अवस्था नियन्त्रणमा रहेको बताए। उनका अनुसार घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ र आवश्यक परे सुरक्षा समितिको बैठक बसेर थप निर्णय लिइने छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः