वर्षाले एनपीएल प्रभावित, लुम्बिनी र चितवनबीचको खेल रद्द

1200x150_1200x150-01.jpg (1)

काठमाडौं , कार्तिक १४ —

लगातारको वर्षाका कारण नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द भएको छ। मैदान खेल सञ्चालन गर्न योग्य नभएपछि खेल रद्द गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले जानकारी दिएका छन्।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान वर्षाका कारण पूरै भिजेपछि खेल हुन नसकेको हो। खेल रद्द भएसँगै दुवै टोलीले एक–एक अङ्क बाँडेका छन्।

आजको दोस्रो खेलमा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने तालिका छ। साँझ ५ बजेदेखि सुरु हुने भनिएको उक्त खेल पनि वर्षाका कारण प्रभावित हुन सक्ने सम्भावना छ।

कात्तिक ९ गतेदेखि सुरु भएको एनपीएल मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ। यसअघिका दुई संस्करणमा वर्षाका कारण कुनै पनि खेल रद्द भएका थिएनन्। ती संस्करण नोभेम्बर–डिसेम्बरमा आयोजना भएका थिए भने यसपटक अन्तर्राष्ट्रिय क्रिकेट क्यालेन्डरअनुसार प्रतियोगिता एक महिना अगाडि सारिएको क्यानले जनाएको थियो।

यसअघि एनपीएलको समय अन्तर्राष्ट्रिय लिग टी–२० सँग जुध्दा केही विदेशी खेलाडी प्रतियोगिता बीचमै छाडेर यूएई जाने गरेका थिए। यसपटक पनि क्यानडाको ग्लोबल टी–२० र अबुधाबी टी–२० सँग तालिका जुधेका कारण सम्झौता गरेका केही विदेशी खेलाडी अन्य प्रतियोगितामा गएको भन्दै फ्रेन्चाइज टोलीले गुनासो गरेका छन्।

भर्खरै

सम्बन्धित पोस्टहरुः