किन भयो एकाएक सुनकोशी–मरिण आयोजनाको ठेक्का रद्द ?
पर्सा , कार्तिक १४ —
सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको एउटा महत्वपूर्ण ठेक्का रद्द गरिएको छ। आयोजनाको प्रगतिबारे जानकारी लिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोजना निर्देशक र सिँचाइ विभागका महानिर्देशकलाई प्रहरीमार्फत काठमाडौं झिकाएको दिन नै ठेक्का रद्दसम्बन्धी सूचना सार्वजनिक भएको हो।
आयोजनाले शुक्रबार कात्तिक १३ गते सूचना जारी गर्दै सिभिल, हाइड्रोमेकानिकल कम्पोनेन्ट तथा सम्बन्धित संरचना निर्माणका लागि अघि बढाइएको बोलपत्र प्रक्रिया रद्द गरेको जनाएको छ। यसअघि सन् २०२६ जुन ८ मा उक्त कामका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिएको थियो। सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३(२) उल्लेख गर्दै ठेक्का रद्द गरिए पनि त्यसको कारण खुलाइएको छैन।
ठेक्का रद्द हुनुअघि बिहीबार जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र आयोजना निर्देशक कृष्णप्रसाद रिजाललाई प्रहरीले काठमाडौं ल्याएको थियो। शुक्रबार उनीहरूलाई प्रधानमन्त्री कार्यालयमा उपस्थित गराइएको थियो। प्रहरी स्रोतले नियन्त्रणमा लिएर ल्याइएको बताए पनि प्रधानमन्त्री कार्यालयले भने पक्राउ गरिएको नभई आयोजनाको प्रगतिबारे जानकारी लिन बोलाइएको स्पष्टीकरण दिएको थियो।
प्रधानमन्त्री कार्यालयका एक अधिकारीका अनुसार दुवै अधिकारी पछिल्लो समय फोन बन्द गरी सम्पर्कविहीन भएपछि खोजीका लागि प्रहरीलाई पत्राचार गरिएको थियो। कार्यालयले उनीहरूलाई पक्राउ नगरिएको दाबी गरे पनि खोजीका लागि प्रहरी परिचालन गरेको स्वीकार गरेको थियो।
दुई अधिकारीलाई प्रधानमन्त्री कार्यालयमा उपस्थित गराइएको र सोही दिन ठेक्का रद्द भएको घटनाक्रमले आयोजनाको ठेक्का प्रक्रियालाई थप चासोको विषय बनाएको छ। तर ठेक्का रद्द गर्नुको वास्तविक कारण तथा यसमा प्रधानमन्त्री कार्यालयको कुनै निर्देशन वा भूमिका रहे–नरहेकोबारे आधिकारिक विवरण सार्वजनिक भएको छैन।






