जापानका लागि प्रस्तावित राजदूत थापा लिए नाम फिर्ता 

1200x150_1200x150-01.jpg (1)

काठमाडौं , कार्तिक १७ —

जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिने निर्णय गरेका छन् । स्वार्थको द्वन्द्वसम्बन्धी प्रश्न उठेपछि उनले संसदीय सुनुवाइ समितिलाई नियुक्तिको सिफारिसबाट नाम फिर्ता लिन लागेको जानकारी गराएका हुन् ।

समिति सभापति बोधनारायण श्रेष्ठका अनुसार थापाले समितिमा उपस्थित नहुने र नाम फिर्तासम्बन्धी निवेदन पठाउने जानकारी दिएका छन् । कानुनी रूपमा समस्या नरहेको भए पनि स्वार्थको द्वन्द्वको विषय उठेकाले उनले नाम फिर्ता लिन लागेको सभापति श्रेष्ठले बताएका छन् ।

गत असोज २८ गते भएको संसदीय सुनुवाइमा थापाको नामबारे थप अध्ययन गर्नुपर्ने भन्दै निर्णय स्थगित गरिएको थियो । जापानको स्थायी आवासीय अनुमति (पीआर) लिएको विषय उठेपछि सांसदहरूले उनको योग्यतामाथि प्रश्न गरेका थिए ।

सुनुवाइका क्रममा थापाले जापानको पीआर त्यागिसकेको स्पष्टीकरण दिएका थिए । तर, संविधानको धारा २९१ र पीआर त्यागेको अवधिबारे सांसदहरूले थप प्रश्न उठाएका थिए ।

सरकारले राजदूत नियुक्तिका लागि सिफारिस गरेका १३ जनामध्ये समितिले असोज २८ गते १० जनाको नाम अनुमोदन गरेको थियो । साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चुडामणि खरेलको नाम भने समितिले अस्वीकृत गरेको थियो ।

भर्खरै

सम्बन्धित पोस्टहरुः