रौतहट, कात्तिक १८ –
भारतबाट मोटरसाइकलमा लुकाएर ल्याउँदै गरेको ३० लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। उनको बयानका आधारमा गौरस्थित एक व्यापारिक प्रतिष्ठानबाट थप १४ लाख ६४ हजार ६०५ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ईशनाथ नगरपालिका–४, महुलियास्थित काली मन्दिर नजिक मंगलबार दिउँसो नियमित चेकजाँचका क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको नेपाली नम्बर प्लेटको मोटरसाइकल रोकेर जाँच गर्दा चालक भारतको बिहार, पूर्वी चम्पारणका करिब ३० वर्षीय सनि कुमार जैसवालको साथबाट स्रोत नखुलेको ३० लाख रुपैयाँ फेला परेको थियो।
जैसवालले झोला र मोटरसाइकलको इन्धन ट्याङ्कीमुनि बनाइएको गोप्य स्थानमा रकम लुकाएर ल्याएको प्रहरीले जनाएको छ। उनलाई नगद, मोटरसाइकल र मोबाइलसहित नियन्त्रणमा लिएर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रौतहट पठाइएको थियो।
प्रारम्भिक सोधपुछका क्रममा उक्त रकम गौर नगरपालिका–१ स्थित न्यु तराई ट्रेडर्सका सञ्चालक शेख कमरुललाई बुझाउन ल्याएको खुलेपछि प्रहरीले व्यापारिक प्रतिष्ठानमा खानतलासी गरेको थियो। सो क्रममा थप १४ लाख ६४ हजार ६०५ रुपैयाँ बरामद भएपछि करिब ५१ वर्षीय सञ्चालक कमरुललाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
दुवै स्थानबाट गरी कुल ४४ लाख ६४ हजार ६०५ रुपैयाँ बरामद भएको छ। रकमको स्रोत, कारोबारको प्रकृति र घटनामा अन्य व्यक्तिको संलग्नताबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।







