जनकपुरधाम , कार्तिक २० –
जनकपुरधामदेखि भारतको अयोध्यासम्म सञ्चालन गर्ने तयारी गरिएको विशेष रेल सेवाको परीक्षण गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा रेल सेवाको उद्घाटन गर्ने तयारी गरिएको छ।
नेपाल रेल्वे कम्पनीका अनुसार दुई इन्जिन र सात डिब्बा रहेको भारतीय विशेष रेल भारतको अयोध्यादेखि धनुषाको कुर्थासम्म परीक्षण गरिएको हो। रेल सञ्चालनका क्रममा नेपालतर्फ नेपाली सुरक्षा निकाय र भारततर्फ भारतीय सुरक्षा निकायले सुरक्षा जिम्मेवारी लिने विषयमा सैद्धान्तिक सहमति भएको कम्पनीले जनाएको छ।
जनकपुरधाम र अयोध्यालाई रेल सेवामार्फत जोड्ने योजनाले दुई देशबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप मजबुत बनाउनुका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
हिन्दू धार्मिक मान्यताअनुसार जनकपुरधामलाई माता सीताको जन्मभूमि र अयोध्यालाई भगवान् रामको जन्मभूमिका रूपमा लिइन्छ। यी दुई धार्मिक सहरबीच प्रत्यक्ष रेल सेवा सञ्चालन भएपछि रामायण सर्किटअन्तर्गत तीर्थयात्री तथा पर्यटकको आवागमन सहज हुने विश्वास गरिएको छ।
हाल भारतको जयनगरदेखि जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ।





