पर्सा , कार्तिक २६ –
रौतहटको गौर नगरपालिका–५ स्थित बरहवा ताल नजिकै निर्माण गरिएको श्री सूर्य तथा बराह मन्दिरको बिहीबार विधिवत् उद्घाटन गरिएको छ।
गौर नगरपालिकाका पूर्व नगर प्रमुख एवं नेकपा एमालेका रौतहट जिल्ला इन्चार्ज अजयकुमार गुप्ताले वैदिक मन्त्रोच्चारण, पूजाअर्चना तथा प्राणप्रतिष्ठासहित मन्दिरको उद्घाटन गरेका हुन्।
स्वर्गीय सियावती देवी र मैनेजर साह बनियाको स्मृतिमा गुप्ताको विशेष पहलमा निर्माण गरिएको मन्दिरमा गौर नगरपालिका, मधेश प्रदेश सरकार र गुप्ता परिवारको आर्थिक सहयोग रहेको छ। २०७६ साल जेठ ३० गते शिलान्यास गरिएको मन्दिर करिब सात वर्षपछि निर्माण सम्पन्न भएको हो।
उद्घाटनका अवसरमा गुप्ताले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व भएको बताए।








