वीरगंज, २५ कार्तिक –
बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चियापान कार्यक्रमका क्रममा पार्टीभित्रका दुई पक्षबीच झडप भएको छ।
झडपमा परी करिब एक दर्जन जना घाइते भएका छन्। घाइतेमध्ये ७ जनाको वीरगंज महानगरपालिका वडा नं. १४ स्थित वीरगञ्ज हेल्थकेयर अस्पताल गण्डकमा उपचार भइरहेको छ भने अन्य घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
रास्वपाभित्र अस्लम देवान र सुवास मन्सुरी पक्षबीच देखिएको विवादले उग्र रूप लिएपछि चियापान कार्यक्रम झडपमा परिणत भएको बताइएको छ।
झडपपछि वीरगंज हेल्थकेयर अस्पताल परिसरमा समेत दुई पक्षबीच कुटपिट भएको जानकारी प्राप्त भएको छ। घटनाका क्रममा प्रहरीमाथि समेत हातपात भएको बताइएको छ।
कार्यक्रमस्थलमा सांसद रहबर अन्सारीसमेत उपस्थित थिए। दुई पक्षबीच विवाद बढ्दै झडपको अवस्था सिर्जना भएपछि सांसद अन्सारी कार्यक्रमस्थलबाट बाहिरिएका थिए।
घटनापछि स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
गण्डकबाट ९ जना पक्राउ
यसैबीच, बारा, भलुहीमा दुई पक्षबीच भएको कुटाकुटपछि घाइतेहरू उपचारको लागि पर्सा, वीरगञ्ज महानगरपालिका वडा नं. १४ स्थित वीरगञ्ज हेल्थकेयर अस्पतालमा आई उपचार गराई राखेको अवस्थामा दुवै पक्षका केही व्यक्तिहरूबीच पुनः वाद-विवाद भई झगडा गर्ने ९ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।






