वीरगंज, ३ पुस । वीरगञ्जका दुवै भन्सार कार्यालय पुस १ गतेदेखि दैनिक थप दुर्ई घण्टा सेवा विस्तार गरेका छन् । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको व्यापार सहजीकरण समितिको बैठकले पुस १ गतेदेखि वीरगञ्ज भन्सारमा वस्तु तथा सामानको जाँचपाँस र यात्रीको जाँचपासका लागि थप दुर्ई घण्टा सेवा विस्तार गर्ने निर्णय गरेको हो । पर्साका प्रजिअ अर्यालले भन्सार जाँचपासको प्रक्रियालाई सहज बनाउन दुर्ई घण्टा थप सेवा विस्तार गर्न लागिएको जानकारी दिए । भन्सार जाँचपासको प्रक्रिया बिहान ६ बजेदेखि बेलुका १० बजेसम्म हुँदै आइरहेको थियो । यसले भन्सार जाँचपास गर्ने व्यवसायी र यात्रीलाई मर्का परेको गुनासो आएको उनले बताए । व्यापार सहजीकरणको बैठकले बिहान ५ बजेदेखि बेलुका ११ बजेसम्म भन्सारको सेवा विस्तारित गर्ने निर्णय गरेको हो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले थप दुर्ई घण्टा विस्तारित समयमा बैंक, क्वारेन्टाइनलगायत सबै सेवा थप हुने जानकारी दिए । वीरगञ्ज उद्योग वाणिज्य सङघका वरिष्ठ उपाध्यक्ष हरि गौतमले भन्सारको सेवा थप भएसँगै भन्सार जाँचपास गर्ने व्यापारी तथा व्यवसायीलाई सहज हुने बताए ।
Facebook Comments Box