वीरगंज, १६ पुस । नापी कार्यालय पर्सामा एकजना अमिनमाथि कुटपिट भएको छ । लेखापढी व्यवसायी ओमप्रकाश यादवले नापी कार्यालय पर्साको फाट नं. ३ का अमिन धिरेन्द्र जयसवाललाई कुटपिट गर्दै दुव्र्यवहार गरेको हो । मंगलवार १ बजेको समयमा कार्यालयमा काम गरिरहेको अवस्थामा उनले कठालो समातेर दुई चार थप्पड हान्दै कुटपिट गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । वीरगंज–१६ नगवाको मदनप्रसाद गुप्ताको एउटा जग्गाको नापजाच गर्ने क्रममा लेखनदास र कर्मचारीबीच विवाद भएको थियो । यस विषयमा मालपोत चोेकमा रहेको शुभलाभ लेखापढी च्याम्बरमा कार्यरत ओमप्रकाश यादवसंग बुझ्दा उनले जग्गा नापजाँच गर्नका लागि आलटाल गरिरहेकोले सामान्य विवाद भई झगडा भएको प्रतिक्रिया दिए । ि यो घटनाबारे नापी कार्यालय पर्साका कार्यालय प्रमुख राकेशकुमार झाले घटना निन्दनीय भएको बताए । घटना बारे पर्साका प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएको उनले बताए । कानुनी प्रक्रियाबारे अपराह चार बजे बैठक बसेर छलफल गर्ने र त्यसपछि नापी कार्यालय पर्साको आधिकारिक निर्णय लिने बताए । यो घटना भएपछि कुटपिट गर्ने यादवलाई वीरगंज–२६ का वडाध्यक्ष शम्भु मिश्रले जिम्मा लिएका छन् । मिश्र शुभलाभ लेखापढी च्याम्बरका सञ्चालक हुन् । मिश्रले प्रशासनले खोजेको बेला आफूले हाजिर गराउने शर्तमा यादवलाई जिम्मा लिएको बताइएको छ ।
Facebook Comments Box