जनकपुरधाम , भदौ ११ —
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति मधेश प्रदेश सरकारले दुःख व्यक्त गर्दै खोज, उद्धार तथा राहत कार्यमा सहयोग गर्ने निर्णय गरेको छ।
बुधबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
बैठकले विपद् प्रभावितको राहत तथा व्यवस्थापनमा सहयोग पुर्याउन मुख्यमन्त्री, मन्त्रीलगायत प्रदेशका सम्पूर्ण पदाधिकारी र कर्मचारीको एक दिन बराबरको तलब केन्द्रीय विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको अर्थमन्त्री युवराज भट्टराईले जानकारी दिए।
प्रदेश सरकारले मधेशका नागरिक, उद्यमी, व्यवसायी, समाजसेवी तथा आमसञ्चार क्षेत्रलाई समेत राहत तथा उद्धार अभियानमा सहयोग गर्न अपिल गरेको छ।







