पर्सा , कार्तिक ११ –
पर्साको सखुवाप्रसौनी गाउँपालिकामा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीच देखिएको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब नपाएको गुनासो गरेका छन्।
गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयका शिक्षक, विद्यालय कर्मचारी तथा गाउँपालिकाका कर्मचारीले समयमै पारिश्रमिक नपाउँदा आर्थिक समस्या झेल्नुपरेको बताएका छन्।
तलब निकासामा ढिलाइ भएपछि विभिन्न सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले गाउँपालिकाका लेखा शाखा प्रमुख सुमन साहलाई ज्ञापनपत्र बुझाउँदै तत्काल समस्या समाधान गर्न माग गरेका छन्।
प्राप्त जानकारीअनुसार गाउँपालिकाको खाता सञ्चालन तथा आर्थिक व्यवस्थापनसम्बन्धी विषयमा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीच विवाद देखिएपछि तलब निकासामा समस्या उत्पन्न भएको बताइएको छ। यद्यपि विवादको वास्तविक कारण आधिकारिक रूपमा पुष्टि हुन बाँकी छ।
दसैँजस्तो प्रमुख चाडपर्वमा समेत तलब नपाउँदा शिक्षक तथा कर्मचारीमा असन्तुष्टि बढेको छ। गाउँपालिकाभित्रको विवादको असर कर्मचारीको पारिश्रमिकमा पर्न थालेपछि प्रशासनिक जिम्मेवारी र जवाफदेहितामाथि समेत प्रश्न उठेको छ।
पीडित शिक्षक तथा कर्मचारीले आपसी विवाद समाधान गरी रोकिएको तलब तत्काल उपलब्ध गराउन सम्बन्धित पक्षसँग माग गरेका छन्।
यस विषयमा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको आधिकारिक प्रतिक्रिया प्राप्त हुन सकेको छैन।






