थोक तरकारी बजार छपकैयामा सार्न व्यवसायीलाई २१ दिने अल्टिमेटम

1200x150_1200x150-01.jpg (1)

वीरगंज , कार्तिक १२ —

वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा सञ्चालन भइरहेका अव्यवस्थित तरकारी तथा फलफूलका थोक बजार हटाउन व्यवसायीलाई २१ दिनको समय दिएको छ ।

महानगरपालिकाले बिहीबार सूचना जारी गर्दै वडा नम्बर २ छपकैयामा निर्माण गरिएको व्यवस्थित थोक बजारमा कारोबार स्थानान्तरण गर्न निर्देशन दिएको हो । सूचनाअनुसार व्यवसायीले कात्तिक २ गतेभित्र सम्पूर्ण थोक कारोबार तोकिएको स्थानमा सारिसक्नुपर्नेछ ।

महानगरपालिकाका अनुसार सडक र सार्वजनिक स्थानमा थोक कारोबार हुँदा यातायात आवागमन, बजार व्यवस्थापन तथा उपभोक्ताको सहज पहुँचमा समस्या भइरहेको छ । यी समस्या समाधान गर्न थोक व्यवसायलाई एकै स्थानमा केन्द्रित गर्न लागिएको महानगरले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत वसन्त बहादुर बोहराद्वारा हस्ताक्षरित सूचनामा तोकिएको समयभित्र बजार स्थानान्तरण नगर्ने व्यवसायीमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने उल्लेख छ । समयसीमापछि बजार नसार्दा हुने क्षतिको जिम्मेवारीसमेत सम्बन्धित व्यवसायीले लिनुपर्ने महानगरले जनाएको छ ।

छपकैयास्थित व्यवस्थित बजारमा सबै थोक कारोबार केन्द्रित गर्दा मुख्य बजार क्षेत्रमा हुने अव्यवस्थित व्यापार, यातायात अवरोध र सार्वजनिक स्थानको अतिक्रमण घट्ने महानगरको अपेक्षा छ ।

भर्खरै

सम्बन्धित पोस्टहरुः