पर्सा , कार्तिक १२ —
बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को सम्भावित प्रभावका कारण नेपालका विभिन्न राजमार्गमा पहिरो र बाढीको जोखिम बढ्न सक्ने चेतावनी दिइएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको बाढी पूर्वानुमान महाशाखा र भौगर्भिक तथा जल उत्पन्न विपद् अनुसन्धान शाखाले बिहीबार प्रारम्भिक जोखिम आकलनसहित पूर्वसूचना जारी गरेका हुन्।
सूचनाअनुसार नारायणी, बागमती र कोशी नदी जलाधार क्षेत्रमा वर्षा हुँदा पहिरो खस्ने, ढुङ्गा झर्ने, सडक भासिने तथा नदी किनारका सडकमा बाढी र कटानको जोखिम बढ्न सक्छ।
विशेषगरी नारायणगढ–मुग्लिन सडक, कोशी, सिद्धार्थ, कान्ति र अरनिको राजमार्गका संवेदनशील खण्डहरू जोखिममा पर्न सक्ने जनाइएको छ।
सम्भावित पहिरो र बाढीले यातायात सञ्चालन तथा अत्यावश्यक सामग्री ढुवानीमा अवरोध पुर्याउन सक्ने भएकाले सम्बन्धित निकायले सतर्कता अपनाउन आग्रह गरेका छन्।
वर्षाको समयमा अत्यावश्यकबाहेक यात्रा नगर्न र यात्रा गर्नैपरे ट्राफिक प्रहरी तथा सडक कार्यालयबाट पछिल्लो अवस्था बुझेर मात्र निस्कन सर्वसाधारणलाई अनुरोध गरिएको छ।






