काठमाडौं , मङ्सिर ६ –
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीचका ६ वटा पूर्वाधार तथा सम्पर्कसम्बन्धी परियोजनाको शिलान्यास, उद्घाटन तथा हस्तान्तरण गरिएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको द्विपक्षीय छलफलपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा दुवै प्रधानमन्त्रीले विभिन्न परियोजनाको संयुक्त रूपमा शिलान्यास तथा उद्घाटन गरेका हुन्।
प्रधानमन्त्री शाह र मोदीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास गरेका छन्। संखुवासभाको चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा निर्माण हुने यस आयोजनाको अनुमानित लागत ९२ अर्ब ६७ करोड रुपैयाँ रहेको छ। आयोजना नेपाल र भारतको संयुक्त लगानीमा निर्माण हुनेछ।
त्यस्तै, बनवासा सुक्खा बन्दरगाह, सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन तथा झापास्थित टर्मिनलको शिलान्यास गरिएको छ। मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणका पूर्वाधार हस्तान्तरण गरिएको छ भने धार्चुला–दार्चुला पक्की पुलको उद्घाटन गरिएको छ।
यसैगरी, भारतको अयोध्या र नेपालको जनकपुरधाम जोड्ने सरयू–कमला एक्सप्रेस रेल सेवासमेत उद्घाटन गरिएको छ। अयोध्या रेलवे स्टेसनबाट उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसहित रेलवेका अधिकारीहरूले जनकपुरधाम जाने रेललाई बिदाइ गरेका छन्।
करिब ६०४ किलोमिटर दूरीको यो रेल सेवा सातामा एक पटक दुईतर्फी सञ्चालन हुने भारतीय रेल मन्त्रालयले जनाएको छ। रेलले जयनगर, मधुबनी, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्यालगायतका स्टेसनमा रोक्नेछ।
रेल सेवाले नेपाल र भारतका दुई महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक सहरलाई प्रत्यक्ष रूपमा जोड्नुका साथै धार्मिक पर्यटन र सीमापार आवागमन सहज बनाउने अपेक्षा गरिएको छ।






