मोतिहारीमा श्रीमानकै अगाडि श्रीमतीमाथि बलात्कार, आठ जना पक्राउ

1200x150_1200x150-01.jpg (1)

मोतिहारी , कार्तिक ३ –

भारतको बिहारस्थित मोतिहारीमा दसैँको मेला हेरेर फर्किरहेका दम्पतीलाई बाटोमा रोकेर श्रीमानमाथि कुटपिट गर्दै श्रीमतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार घटना अक्टोबर १८ को बिहान करिब ४ बजे भएको हो। मधुबन थानाका प्रमुख प्रवीण पाण्डेका अनुसार आरोपितहरूले महिलालाई जबर्जस्ती मधुबन थाना क्षेत्रअन्तर्गत बंजरिया सरेहस्थित एउटा बगैँचामा लगेर बलात्कार गरेका थिए। उक्त स्थान श्यामपुर भटहा थाना क्षेत्रको लालगढ जिम्मी सिंह टोल नजिक पर्छ।

घटनाबारे सूचना पाएपछि प्रहरीले छापा मारेर आठै जना आरोपितलाई पक्राउ गरेको जनाएको छ। पीडित महिलाको बयानका आधारमा मुद्दा दर्ता गरी उनको स्वास्थ्य परीक्षणसमेत गराइएको प्रहरीले जनाएको छ।

प्रहरीले आरोपितहरूको साथबाट आठवटा मोबाइल फोन बरामद गरेको छ। तीमध्ये पीडित महिलाका श्रीमानबाट खोसिएको मोबाइल फोनसमेत रहेको बताइएको छ।

पक्राउ पर्नेमा अम्बिकेश तिवारी (३८), रिकी कुमार (१९), अंकुश कुमार (१९), राहुल कुमार (१९), कञ्चन कुमार (१८), मुन्ना कुमार (१८), रणधीर कुमार (२०) र अमित कुमार (१८) रहेका छन्। उनीहरू सबै बिहारको शिवहर जिल्लास्थित श्यामपुर भटहा थाना क्षेत्रको लालगढ जिम्मी सिंह टोलका बासिन्दा रहेको प्रहरीले जनाएको छ।

मधुबन थानाका प्रमुख पाण्डेले घटनामा संलग्न आरोपितमाथि कडा कानुनी कारबाही गरिने र पीडितलाई न्याय दिलाउन पहल गरिने बताएका छन्। घटनापछि स्थानीय क्षेत्रमा आक्रोश फैलिएको जनाइएको छ।

सम्बन्धित पोस्टहरुः