गाजा , कार्तिक ३ –
कोषको अभाव भएपछि संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले युद्धग्रस्त गाजामा सञ्चालन गर्दै आएको खाद्य राहत कार्यक्रम कटौती गरेको छ। यस निर्णयसँगै मासिक खाद्य सहायता प्राप्त गर्ने मानिसको सङ्ख्या १६ लाखबाट घटाएर ११ लाखमा सीमित गरिने भएको छ।
समाचार संस्था अलजजीराका अनुसार डब्ल्यूएफपीले प्रतिपरिवार उपलब्ध गराउँदै आएको खाद्य सामग्रीका दुई प्याकेज घटाएर एउटा मात्र दिने भएको छ। यस्तै, वितरण गरिने पिठोका बोराको आकारसमेत सानो बनाइनेछ।
कार्यक्रमअन्तर्गत दैनिक वितरण हुँदै आएको तातो खानाको सङ्ख्या पनि घटाइने भएको छ। यसअघि दैनिक २ लाख ५० हजार जनालाई उपलब्ध गराइँदै आएको तातो खाना अब १ लाख ५० हजार जनालाई मात्र वितरण गरिनेछ।
युद्धका कारण गाजाका अधिकांश बासिन्दा पर्याप्त खाद्यान्न जुटाउन सङ्घर्ष गरिरहेका बेला राहत कटौतीको निर्णय आएको हो।
डब्ल्यूएफपीका अनुसार सन् २०२६ मा प्यालेस्टाइनसम्बन्धी कार्यक्रमका लागि अघिल्ला वर्षहरूको तुलनामा आधाभन्दा कम रकम प्राप्त भएको छ। प्यालेस्टिनी क्षेत्रमा आगामी छ महिनासम्म अत्यावश्यक काम सञ्चालन गर्न थप ४५ करोड अमेरिकी डलर अर्थात् करिब ६८ अर्ब रुपैयाँभन्दा बढी रकम तत्काल आवश्यक रहेको संस्थाले जनाएको छ।
सन् २०२३ अक्टोबर ७ मा हमासको नेतृत्वमा इजरायलमाथि आक्रमण भएपछि इजरायलले गाजामा सैन्य कारबाही सुरु गरेको थियो। त्यसयता जारी युद्धले त्यहाँको शिक्षा, स्वास्थ्य सेवा र अर्थतन्त्रमा गम्भीर क्षति पुर्याएको छ। खाद्यान्न, पानी, आश्रय र अन्य आधारभूत आवश्यकताको अभावले सर्वसाधारणको जीवन थप कठिन बनेको छ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको सैन्य कारबाही सुरु भएयता ७४ हजार २०० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ।






