वीरगंज, ३ कात्तिक –
पर्साको वीरगंज महानगरपालिका–२५ सिर्सियाबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका अनुसार आइतबार राति भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकल जाँच गर्ने क्रममा भारतको मोतिहारी, मिश्र कोलोनी डंकन रोड–७ निवासी २८ वर्षीय रितेश कुमारको साथबाट ५ ग्राम ६९ मिलिग्राम ब्राउन सुगर बरामद भएको हो।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट ड्राईपोर्टबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका कुमार, मोटरसाइकल र बरामद लागुऔषधलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय छपकैयामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।






