पर्सा , कार्तिक ५ –
पर्सा जिल्लामा असोज महिनामा विभिन्न प्रकृतिका १११ वटा आपराधिक घटना दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय पर्साको मासिक प्रगति विवरणअनुसार चालु मुद्दाका १२० जना प्रतिवादी पक्राउ परेका छन्।
पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार असोजमा सामाजिक अपराधका ६१, संगठित तथा आर्थिक अपराधका १७, चोरीका नौ, ज्यानसम्बन्धी आठ र बालबालिकासम्बन्धी छ घटना दर्ता भएका छन्।
यस अवधिमा लागुऔषधसम्बन्धी १६ वटा मुद्दा दर्ता गरी २४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूबाट ३८ किलो ५०८ ग्राम गाँजा, १७१ ग्राम ७९० मिलिग्राम ब्राउन सुगर र १४ ग्राम ६४० मिलिग्राम अफिम बरामद गरिएको छ।
प्रहरीका अनुसार असोज महिनामा जिल्लाभरि ४० वटा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु र ३१ जना घाइते भएका छन्। ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ३४४ सवारीसाधनलाई कारबाही गरी १६ लाख ३६ हजार ५०० रुपैयाँ राजस्व संकलन गरिएको छ।
त्यस्तै, भन्सार छली तथा राजस्व चुहावट नियन्त्रणका क्रममा ७५ लाख ४४ हजार ४९ रुपैयाँ मूल्यका सामान बरामद गरिएको प्रहरीले जनाएको छ। विपद्सम्बन्धी १८ घटनामा एक जनाको मृत्यु, १० जना घाइते र एक जना बेपत्ता भएका छन्।
एसपी भट्टराईले चाडपर्वका बेला शान्ति सुरक्षा कायम गर्न र सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्न जिल्लाभर प्रहरी परिचालन बढाइएको बताएका छन्।






